Wednesday, August 28, 2013

काखी गन्हाउने समस्याबाट जोगिने उपाय

गर्मी महिनामा काखीमा पसिना आउने समस्या हुने तथा खुला लुगा लगाइने हुँदा काखी सफा गर्नु अति आवश्यक छ। काखी सफा गर्दा पहिले रौं हटाउनुपर्छ। त्यसका लागि गुणस्तरीय वार्म वा हेयर रिमुभर छान्नुपर्छ ताकि रौं निकाल्दा समस्या नआओस्।

त्यसपछि काखीका रौंलाई राम्रोसँग वाक्सिङ र रिमुभ गर्न सकिन्छ। राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्नुपर्छ, त्यसो गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन। त्यसपछि काखीको कालो भागमा चन्दन पाउडर, बेसार र फिटकिरीको धूलोमा रोज वाटर राखी पेस्ट बनाएर लगाई १० मिनेटपछि चिसो पानीले सफा गर्नुपर्छ। त्यसपछि फिटकिरीको डल्लोलाई पानीमा भिजाएर राख्ने र फेरि प्याक लगाए सफा गरेको भागमा दल्नुपर्छ। अन्त्यमा ल्याक्ट्रोक्यालामाइन लोसन लगाई पसिनासम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ।


केशमा कुनै वस्तु अल्झियो वा टाँसियो भने 

१. चुइगम टाँसियो भने के गर्ने ? 

केशमा चुइगम टाँसियो भने सबैभन्दा पहिले केशमा बदामको तेलले मसाज गर्ने  र केशको टुप्पोदेखि ब्रसले कोर्दै लाने। त्यसो गर्दा चुइगम सजिलैसित निस्कन्छ। त्यसपछि टाँसिएको भागमा हेयर सुपर वा कन्डिसनर लगाउनुपर्छ। 

२. सुपर ग्लु टाँसियो भने ? 

यसलाई पनि तेल लगाएर विस्तारै मसाज गर्दै निकाल्न सकिन्छ। 

३. रंग टाँसियो भने ? 

केशमा रंग लाग्यो भने पेन्ट थिनर केशमा राखेर जुन भागमा रंग लागेको हो त्यसलाई मात्र लिएर पुछ्ने अनि स्याम्पुले सफा गर्ने। 

केशमा प्लास्टिकको हेयर ब्रस अड्किएको खण्डमा केश नकाटी ब्रसको टुप्पोलाई नेल कटरको सहायताले काट्नुपर्छ र चुच्चो काइँयोको सहायताले विस्तारै निकाल्नुपर्छ।

-अनिता खड्का रायमाझी, कलंकी ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर , कलंकी मन्दिर



नङको स्वास्थ्य

सुन्दर नङले नारी सौन्दर्य वृद्धि गर्छ। त्यसैले पनि धेरैजसो महिला नङ राम्रो बनाउन लालायित हुन्छन्। नङ राम्रो, सुन्दर र सही बनावटको देखियो भने हात पनि राम्रो र सेक्सी देखिन्छ। त्यसैले नङको रेखदेखमा विशेष ध्यान दिनु आवश्यक छ। नङ एक प्रकारको कडा प्रोटिन -केराटिन) ले बनेको हुन्छ। नङ गर्मी मौसम र गर्मी ठाउँमा चाँडो बढ्छ। नङको स्वास्थ्य खानपान, मौसम, काम तथा हेरचाहमा भर पर्ने हुनाले यी कुरामा विचार पुर्‍याउनु बुद्धिमानी हुन्छ। निम्न कुरामा विचार पुर्‍याउन सके स्वस्थ एवं सुन्दर नङको चाहना अवश्य पूरा हुन्छ। 

- सन्तुलित आहार खाने।

- समय-समयमा बफिङ, 

- टि्रमिङ गरिरहने।

- धूम्रपान नगर्ने। 

- नङ नटोक्ने।

- नङले मासु छोड्ने कुनाहरू फाइलिङ नगर्ने, यसले नङलाई  कमजोर बनाउँछ र नङ चोइटिने समस्या आउन सक्छ।

- सरसफाइको काम गर्दा रबर ग्लोभ्स लगाउने। यसो गर्दा केमिकलयुक्त सामानले नङ पातलो बनाइदिने तथा अन्य कुरामा ठोक्किएर भाँचिने समस्या हुन पाउँदैन। 

- समय-समयमा मेनिक्योर गराइरहने।

- प्रशस्त पानी पिउने।

- प्रोटिन एवं भिटामिनयुक्त खाना प्रशस्त खाने।

अनिता राजभण्डारी, इन्काज् मेहन्दी एण्ड नेल आर्ट, ट्रेनिङ सेन्टर, जमलचोक, एम. आई. विल्डिङ



युथ गहना टे्रन्ड

- युवतीहरूलाई लामो झुम्का निकै सुहाउँछ। लामो झुम्का लगाएर उनीहरू कुनै पनि पार्टीको केन्द्र बिन्दु बन्न सक्छन्। 

- टिनएजर्सहरूले पार्टीका लागि सुनको ककटेल औंठी लगाउन सक्छन् जुन अचेल फेसनमा छ। 

- पहिले फूल, पात एवं जनावरका आकृतिका गहना मन पराइन्थ्यो तर हिजोआज विभिन्न ज्यामितीय आकारका सुनका गहना मन पराइन थालेको छ। 

- युवतीहरूका लागि सुनमा रुबी तथा एमरल्डजस्ता रत्न जडित गहना उपयोगी हुन्छन्। यसको प्रयोग औंठी तथा झुम्कामा गरिन्छ। 

- जरकन भएका गहना पनि अहिले फेसनमा छन्। 

- रोडियम पालिस गरिएका गहना पि्रय छन्। विशेषगरी औंठीमा रोडियमको कारिगरी आकर्षक देखिन्छ। 

पाभेल उदास, चिफ एडमिनिस्टे्रटिभ अफिसर,बराह ज्वेलर्स 

0 comments: