Wednesday, August 28, 2013

माई बडी माई राइट्स


विश्वव्यापी रूपमा बलियो नाराका रूपमा अघि बढेको माई बडी माई राइट्सको अवधारणा नेपालको सन्दर्भमा पनि लागू हुने क्रममा छ।

समग्र जनमानसका लागि माई बडी माई राइट्सको अवधारणा उत्तिकै र समान हिसाबले लागू गरिनुपर्ने भए पनि महिलाको हकमा यस किसिमको अधिकार बढी मात्रामा प्रयोगमा आउनुपर्ने जानकारहरू बताउँछन्। महिलामा रहेको प्रजनन् क्षमतासँग प्रत्यक्ष सरोकार राख्ने यो विषयले शारीरिक अधिकारमा निहित समग्र कुरालाई समेट्छ। यसले हामी र हाम्रो भन्दा पनि म र मेरो भन्ने बुझाउँछ अर्थात् मलाई के मन पर्छ वा पर्दैन ? मैले चाहेको के हो ? खोज्न बाध्य तुल्याउँछ। १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर एमनेस्टी इन्टरनेसनललगायत ६० वटा अधिकारवादी संस्थाले निकालेको वर्ष २०६९ को र्‍यालीको मूल नारा माई बडी माई राइट्स नै थियो। यो विषयले नेपालमा पनि विस्तारै -शिक्षित वर्गबीच) आफ्नो पक्षमा वातावरण सिर्जना गर्दैछ। 


माई बडी

मेरो शरीर...माई बडीको नेपाली शब्द हो। यसले शरीरभित्र निहित सम्पूर्ण अंगका लागि आवश्यकता दर्शाउँछ। मन, इच्छा, चाहना, भावना र आवश्यकता यी सारा चीज यही शरीरभित्र निहित छन्। जीवनपर्यन्त आवश्यक पर्ने चाहना, भावना, इच्छा आकांक्षालगायत, जिउने आधार तयार पार्ने संयन्त्र शरीरका लागि नितान्त नभई नहुने कुरा हुन्। माई बडीको सिद्धान्तले सर्वप्रथम त आफूलाई माया गर्न सिकाउँछ भने आफ्नो शारीरिक हिफाजतका लागि सचेत गराउँछ। माई बडी अवधारणाका पक्षपातीहरू सर्वप्रथम आफ्नो हित एवं अधिकारका बारेमा सधैं सचेत रहन्छन्।

माई राइट्स

माई राइट्स अर्थात् मेरो अधिकार। यसले स्वअस्तित्व र स्वनिर्णयको अधिकारका सम्बन्धमा प्रस्ट्याउँछ। यसको शाब्दिक अर्थ स्वनिर्णय नै हो जसले अधिकारलाई स्वतः अघि सार्छ। मेरा वरिपरिका हाम्रा भनिने जति पनि चीज छन् यो ती सबैभन्दा अघि अर्थात् अग्रपंक्तिमा रहन्छ। माई राइट्सको अवधारणालाई स्वीकार गर्नेहरू आफ्नो इच्छा, आकांक्षा, चाहना र भावनालाई मार्दैनन्। उनीहरू सधैं आफू र आफ्नो अधिकारप्रति सजग रहन्छन्। यसले व्यक्तिलाई म भएर बाँच्न सिकाउँछ। आफूमा भएका जति पनि कुरा छन् तिनलाई सर्वपि्रय मान्नेहरू नै यो सिद्धान्तका पक्षधर हुन्। उनीहरू आफ्नो हकका लागि हरदम तयार रहन्छन्। एउटा व्यक्ति विभिन्न भूमिकामा बाँधिए पनि आफूलाई प्रबल तुल्याउन सधैं तत्पर रहन्छ। 

माई बडी र माई राइट्स अन्तर सम्बन्ध

मेरो शरीर मेरो अधिकार...माई बडी माई राइट्सको नेपाली संस्करण हो। यसले मेरो अर्थात् आफ्नो शरीरमाथिको अधिकार मात्र ममा अर्थात् आफैंमा निहित हुनुपर्छ भन्ने कुरा जनाउँछ। संसारका प्रायः मुलुकका नागरिक यो अधिकारप्रति सचेत छन् तर नेपालमा भने माई बडी माई राइट्स इन्जोय गर्ने महिलाको संख्या कमै देखिन्छ। विशेषतः यो सिद्धान्त महिलाको प्रजनन्सँग प्रत्यक्ष रूपमा जोडिएर आउँछ। बच्चा कहिले जन्माउने, कति जन्माउने वा कति समयको अन्तरालमा जन्माउने, अनिच्छित गर्भ रहेको अवस्थामा राख्ने वा नराख्ने, महिनावारी बार्ने कि नबार्ने आदिका साथै शारीरिक सम्पर्कको विषयमा पनि यसले सरोकार राख्छ। नचाहँदा नचाहँदै पनि भू्रण हत्या गर्नुपर्ने, छोरा जन्माउन अन्य दर्जनौं सन्तान जन्माउनुपर्ने, अनिश्चित शारीरिक सम्पर्कमा सरिक हुनुपर्ने आदि नेपाली नारीका बाध्यता छन्। त्यस्तो अवस्थामा माई बडी माई राइट्सको अवधारणा गौण रहन्छ। कतिपय आधुनिक नेपाली नारीले मौलिक हकभित्र समेटिएको प्रजनन् अधिकार तथा  वैवाहिक बलात्कारका मुद्दालाई बुझेका छन् उनीहरू माई बडी माई राइट्सलाई राम्रोसँग प्रयोग गरिरहेका पनि छन्। यो सिद्धान्तको प्रयोगले महिलालाई स्वतन्त्र रूपमा सशक्त बनाउँछ जसले उनीहरूको वृत्ति विकासका साथै आफू हुनुमा गर्वानुभूति गराउँछ। यस किसिमको अधिकार उपभोग गर्ने महिला शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुका साथै उनीहरूको करियर विकास पनि दु्रत गतिमा भएको पाइन्छ।

सरिता ज्ञवाली, व्यवस्थापक, सदर चिडियाखाना

माई बडी माई राइट्सको अवधारणा संसारका अन्य मुलुकमा दशकौंअघि मौलाएको हो तर हाम्रो देशमा यसको प्रभाव भर्खरै मात्र देखिन थालेको छ। यो अवधारणा समग्र जनमानसका लागि उत्तिकै आवश्यक देखिए पनि महिलाको हकमा यसले बढी सरोकार राख्छ किनभने प्राकृतिक रूपले नै महिलामा फरक र केही थप विशेष गुण हुने हुनाले यसको प्रभाव बढी देखिएको हो। गर्भधारण गर्न, बच्चा जन्माउन, स्तनपान गराउन महिलाले मात्र सक्छन्। मूलतः माई बडी माई राइट्सको उपयोग र प्रयोगले यी विषयसँग बढी सरोकार राख्छ। यसले आफ्नो अस्तित्व एवं शारीरिक स्वतन्त्रतामाथिको अधिकार भन्ने जनाउँछ। चाहेको समयमा गर्भधारण गर्न पाउनु, गर्भपतनका विषयमा स्वनिर्णयको प्रयोगजस्ता कुराको स्वअधिकार नै यो विषय उपभोग गर्ने आधार हुन्। तीबाहेक आफूले इच्छाएको विषय पढ्ने, जागिर खाने, सोहीअनुरूपको करियर रोज्ने, मन लागेको लगाउनेदेखि लिएर खाने कुरासँग पनि यो विषय जोडिएर आउँछ। समग्रमा भन्नुपर्दा आफूभित्रका रहर, इच्छा, चाहना र भावनालाई मर्न नदिनु नै माई बडी माई राइट्सको पूर्ण प्रयोग हो।

आस्था बिन्दु मल्ल, शोधकर्ता

मैले माई बडी माई राइट्सको पूर्ण उपभोग गरिरहेकी छु। मैले वर्ष पनि नपुगेकी छोरी नेपाल छाडेर स्वेच्छाले उच्च शिक्षाका लागि विदेश आएँ त्यो मेरो स्वनिर्णय थियो। म आज जे गर्छु, जे लगाउँछु, जस्तो काम गर्छु त्यो मेरो निर्णय हो जसमा अरू कसैको निर्णय मान्य हुँदैन। यो विचारणीय विषय तथा गम्भीर प्रश्न हो। विदेशी महिलाले यो अधिकारलाई धेरै राम्रोसँग प्रयोग गरिरहेका छन् जसका कारण उनीहरूको करियर दु्रत गतिमा विकास हुन्छ तर हामी नेपाली महिला धेरै कुरा अर्काको खुसीका लागि गरिदिन्छौं। त्यसमा हाम्रो पनि कतै कमजोरी त छैन ? हामी आफ्नै बोल्ड हुन नसकेका त होइनौं ? हो, हामी नेपाली महिला आत्मनिर्भर हुन सकेका छैनौं, अर्काको भरमा बाँच्नुपर्ने अवस्था छ। जसले हामीलाई भित्रभित्रै कमजोर बनाइरहेको छ ? अनि खै कहाँ छ हाम्रो अस्तित्व ? माई बडी माई राइट्सले पूर्णरूपमा महिलाको स्वअस्तित्व, स्वनिर्णय एवं स्वअधिकारसँग सरोकार राख्छ। नेपाली महिला यस किसिमको अधिकार प्रयोग गर्न त के यो भनेको के हो भनेर थाहा पाउने तहसम्म  पनि पुगेका छैनन्। यसको प्रयोगका लागि सर्वप्रथम त यो के हो र यसले के फाइदा पुर्‍याउँछ भन्ने जान्न-बुझ्न जरुरी छ।

जयन सुब्बा मानन्धर, फेसन कोरियोग्राफर, पत्रकार तथा सि.इ.ओ दि र्‍याम्प

आफ्नो शरीर र आफूलाई माया गर्नुपर्छ। लगाउने, आफूलाई मेन्टेन गर्ने, स्वास्थ्यको हिसाबले सबै दृष्टिकोणबाट सर्वप्रथम आफूले आफूलाई माया गर्न जान्नुपर्छ। त्यसो गर्दा चाहे कसैले स्वार्थी भनून्। महिलाले आफ्नो शरीरलाई हरेक दृष्टिकोणले प्राथमिकतामा राख्नुपर्छ। शरीर रहे नै सबै कुरा रहन्छ। अहिलेको जमानाका ५० प्रतिशत आधुनिक नारीले माई बडी माई राइट्स इन्जोय गरिरहेका छन्। अझसम्म नेपाली समाजमा प्रजनन्को विषयलाई लिएर हजारौं नारीले आफ्नो शरीरमाथिको अधिकार उपभोग गर्न सकिरहेका छैनन्  जसको कारण हो शिक्षा र चेतनाको अभाव। मेरो व्यक्तिगत विषयमा कुरा गर्नुपर्दा सचेत र शिक्षित पारिवारिक अवस्थाका कारण मेरो शरीरमाथिको अधिकार पूर्ण रूपमा प्रयोग एवं उपभोग गरिरहेकी छु। चाहे सन्तान जन्माउने कुरामा होस् वा लगाउने, खाने, हिँड्ने कुरामा नै किन नहोस् मैले कसैको दबाबमा बस्नुपरेको छैन। यदि कसैले मेरो शरीरमाथिको अधिकारमा दख्खल दिन खोज्छ भने त्यो मेरा लागि सह्य हुँदैन। पूजाबाहेक महिनावारी हुँदासमेत बार्ने चलन छैन। हाम्रो समाजमा महिला हिंसाका हजारौं घटना घटिरहेका छन्। यस्तो अवस्थामा नेपाली नारीले कसरी माई बडी माई राइट्सको उपभोग गर्न सक्लान् ? तथापि महिलाको अधिकार भन्दैमा विवाह गर्दिन, बच्चा जन्माउँदिन भन्नु पनि त्यति उचित नहोला कि ?

बोनिका कार्की, फेसन इन्स्टक्टर

मैले आफ्नो इच्छाले फेसन डिजाइनिङ पढें जुन मेरो आफ्नै निर्णय थियो तर मेरा कतिपय साथीले चाहेर पनि पढ्न सकेनन् किनभने उनीहरूका अभिभावक डाक्टर, पाइलट, इन्जिनियर बनाउन चाहन्थे। हामी आफूलाई शिक्षित सहरिया भन्छौं। हाम्रो जस्तो स्ट्याटस् र यो पुस्तासम्म आइपुग्दा त यो अवस्था छ भने आमनेपाली महिलाको स्थिति कस्तो होला ? आफूले चाहेको विषय पढेकाले आज म सफल छु। नाम, प्रतिष्ठा, इज्जत सबै थोक छ। सम्भवतः माई बडी माई राइट्स भनेको यही हो। यसको उपभोग गर्न नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएका छन्। कतिपयलाई मैले त केही गर्न सक्दिन रहेछु, मैले गरेको निर्णय गलत हुने रहेछ भन्ने जस्ता निराशाले छोप्दै लान्छ। आफूले रोजेको विषय पढ्न नपाएर वा आफूले भनेको कलेज जान नपाएको आवेगमा कतिपय युवाले आत्महत्या गरेका समाचार बाहिर आउँछन्। यी माई बडी माई राइट्सको प्रयोग गर्न नपाउँदाका भयावह दुर्घटना हुन्। आफ्नो शरीरमाथि मात्र आफ्नो अधिकार हुनुपर्छ। अर्काको निर्णयमा चल्नुपर्दा त्यसले शारीरिक प्रक्रियालाई धमिल्याउँछ, रोगी बनाउँछ भने मानसिक रूपमा विक्षिप्त बनाउँछ। युवाको हकमा कुरा गर्नुपर्दा माई बडी माई राइट्सको प्रयोगबाट वञ्चित भएकै कारण आज हजारौं युवा विभिन्न दुर्घटनाको सिकार भएका छन्। यसले कुलतमा फस्ने, आत्महत्याको प्रयास गर्ने घटना पनि निम्त्याएका छन्। शिक्षा र जनचेतना जगाउन सके माई बडी माई राइट्सको प्रयोग बढ्ने थियो ।

नीता सापकोटा, बरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन 

माई बडी माई राइट्स सबैका लागि जरुरी कुरा हो। नेपालको सन्दर्भमा माई बडी माई राइट्सका विषयमा चर्चा नचलेको पनि होइन तर त्यो त्यति उपलब्धिमूलक हुन सकेको छैन। यसले विशेष गरी महिलाको प्रजनन् अधिकारसँग प्रत्यक्ष सरोकार राख्छ। त्यसबाहेक यो लगाउने-खाने आदि विविध कुरासँग जोडिन्छ। यसले बालमृत्युदर तथा सुत्केरीको मृत्युदरलगायत गर्भपतन आदिमा सरोकार राख्छ। तथापि प्रजनन् स्वास्थ्यमा महिलाको निर्णयमाथि हुनुपर्छ भन्दैमा बच्चै जन्माउँदिन वा जे पायो त्यही गर्न महिलाले पनि हँुदैन। कमाउन नसक्ने अर्कामा परनिर्भर महिलाले बडी माई राइट्स त के साधारण स्वतन्त्रता पनि उपभोग गर्न नपाइरहेको स्थिति छ भने महिनाको केही सय रुपैंयाँ मात्र कमाउने महिलाले थोरै मात्रामा भए पनि माई बढी माई राइट्स इन्जोय गरिरहेका छन्। मेरो व्यक्तिगत कुरा गर्दा मैले यो विषयलाई उपभोग गरेकी छु तर टिनएजमा भने आफूले लगाउन मन लागेका कुरा परिवारको रोकछेकका कारण लगाउन नपाउँदा त्यतिबेला मैले माई बडी माई राइट् उपभोग गर्न नपाएकी रहेछु भन्ने लाग्छ। स्वनिर्णय गर्न सक्ने वातावरण बनेको खण्डमा मात्र महिलाले माई बडी माई राइट्स इन्जोय गर्न पाउँछन्। आफ्नो शरीरमाथि आफू स्वयंको हक हुनुपर्छ जसका लागि शिक्षित र चेतनशील हुनु जरुरी छ।

कला सुब्बा, आरजे तथा कोरियोग्राफर

सर्वप्रथम त आफ्नो अस्तित्वमाथि आफ्नो सम्पूर्ण अधिकार हुनुपर्छ। माई बडी माई राइट्स भनेको आफ्नो अस्तित्वमाथिको अधिकार हो। अहिलेसम्म पनि केही सहरका शिक्षित आधुनिक महिलाबाहेक अन्य नेपाली नारीले यो अधिकार उपभोग गर्न नपाइरहेको अवस्था छ जसको प्रमुख कारण हो शिक्षा, ज्ञान, सामाजिक परिवेश र चेतनाको अभाव। म को हुँ भन्ने कुराको जबसम्म पहिचान हुँदैन तबसम्म माई बडी माई राइट्स उपभोग गर्न सकिँदैन। नारीलाई माया र त्यागकी खानी, सहनशील, आधा आकाश, अबलालजस्ता बोझिला शब्दहरूको अब कुनै अर्थ छैन। नारीले अब आफूभित्रको 'म' लाई चिन्न सक्नुपर्छ। मैले आफ्नो शरीरमाथिको अधिकार पूर्णरूपमा इन्जोय गरिरहेकी छु। यसको उदाहरण हो म अझसम्म अविवाहित रहनु। घर परिवार शिक्षित भएकाले सबैमा मेरा स्वनिर्णयको अधिकार छ। मेरो शरीरको अधिकारी सर्वप्रथम त मै हुँ अरू त पदाधिकारी मात्र हुन्। घर, देशभन्दा पर पनि अर्को एउटा संसार छ त्यसका लागि पनि हामी तयार हुनुपर्छ। तसर्थ माई बडी माई राइट्स पूर्णरूपमा प्रयोग गरौं।

देविका के.सी, गायिका

मैले यो विषयलाई महिलाको यौन तथा प्रजनन् स्वास्थ्यसँग जोडेर हेरेकी छु। माई बडी माई राइट्सले महिलाको शरीरमाथिको स्वअधिकारलाई बुझाउँछ। किनभने यौन तथा प्रजनन् महिलाको प्रत्यक्ष रूपमा सरोकार राख्ने विषय हुन्। यसको अन्तर्राष्ट्रिय अवधारणा पनि यही हो भन्ने मेरो बुझाइ छ। चाहे शारीरिक सम्पर्कका कुरा हुन् वा महिलाले बच्चा जन्माउने, गर्भपतन गर्ने वा नगर्ने कुरा हुन् यी सबै विषय महिलामा निहित हुनुपर्छ। माई बडी माई राइट्सले लगाउने, खाने, आफ्नो करियर तथा व्यक्तित्व निर्माणका विषयमा समेत महत्वपूर्ण भूमिका खेल्छ। नेपाली महिलाको सन्दर्भमा कुरा गर्नुपर्दा उनीहरू माई बडी माई राइट्सको उपभोग र प्रयोगमा धेरै पछाडि छन्। देश-विदेशका महिलाको स्थिति अवलोकन गर्दा र उनीहरूका सम्बन्धमा बुझ्दा यस किसिमको अधिकार प्रयोग गर्ने कुरामा उनीहरूको अवस्था हाम्रो भन्दा हजारौं गुना अघि छ। हाम्रो देशमा पनि यसले स्थान पाउँदैछ। अब हामी नेपाली महिला पनि माई बडी माई राइट्सलाई पूर्णरूपमा प्रयोग गर्न तयार हुनुपर्छ। जसका लागि महिला स्वयं शिक्षित, सचेत, आत्मनिर्भर तथा स्वावलम्बी हुनु जरुरी छ। 

एलिजा गिरी, मोडल तथा मिडिया पर्सनालिटी

यो विषयलाई मैले महिलाको इच्छानुसार समग्र कुराको प्रयोग गर्न पाउनुपर्ने अधिकारका रूपमा बुझेकी छु। एउटा व्यक्तिका लागि आफ्नो शरीरभन्दा ठूलो केही हुँदैन। शरीर रहे नै सबै थोक रहन्छ भन्ने उक्तिलाई चरितार्थ गर्ने यो विषयले महिलाको स्वास्थ्य अधिकारलगायत स्वनिर्णय र स्वअस्तित्वमाथिको सम्पूर्ण अधिकारमा भूमिका खेल्छ। नचाहे पनि वर्षैपिच्छे सन्तान जन्माउनुपर्ने, छोरा जन्माउनुपर्ने, अनिच्छित गर्भधारण भए गर्भपतन गर्न नपाउने, आफूले चाहेको लगाउन, खान वा अर्काको छनोटमा करियर रोज्नुपर्ने बाध्यता अझै पनि विद्यमान नेपाली समाजमा माई बडी माई राइट्सको प्रयोग सहज छैन र पनि कतिपय पढेलेखेका सचेत महिलाहरू यसको प्रयोगमा अघि सरिसकेका छन्। अझ छोरीका लागि त पढ्ने विषयसमेत बुवा वा दाजुभाइले छानिदिने हाम्रो समाजमा माई बडी माई राइट्सको पूर्ण प्रयोग गौण नै छ। यो विषयको पूर्ण प्रयोगका लागि महिला शिक्षित एव आत्मनिर्भर हुनु जरुरी छ। सञ्चार माध्यममार्फत यस्ता विषयमा चेतना फैलाउनुपर्छ भने सरकारले पनि यस विषयमा गम्भीर चासो राखी नीति निर्माणमा जोड दिनुपर्छ

0 comments: