Wednesday, August 28, 2013

दशकपछि गुन्जियो हङकङ पोखरा


हिउँ त हैन, फापरेको डंगुर माया भयो अमिलो अंगुर हङकङ पोखरा निर्मोही आफ्नो को छ र... 'इट्स टाइम टु से— हङकङ-पोखरा' भन्दै जब विवेक श्रेष्ठले गलो खोले, हुटिङले हलै गुन्जियो ।

सँगसँगै सुरु भो नाचगान । सुन्दर नगरी पोखरालाई समुद्रपारिको सहरसँग जोडिदिएको यो गीत दशकपछि पनि कन्दरा ब्यान्डको पहिचानै बनेको छ । साहित्यकार सरुभक्तद्वारा रचित उक्त गीत सुनेर भीड मच्चिनुको कारण त्यति मात्र पनि थिएन ।


'बाह्र वर्षमा खोलो पनि र्फकन्छ' भन्ने उखानझैं करिब उति नै समयपछि सहारा साँझले हङकङेली दर्शक र विवेकको पुनर्मिलन गराइदिएको थियो । 'धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई...,' सन् २००० पछि पहिलोपटक यहाँ आएका विवेकले यही स्वदेशगानबाट कन्सर्टको सुरुआत गरे । राष्ट्रप्रेमले ओतप्रोत उक्त गीत धेरैअघि गोपाल योञ्जनले गाएका थिए । आइतबार राति विवेकले पुनः तिनै शब्द दोहोर्‍याउँदा अहिले पनि यो उक्तिकै सान्दर्भिक अनुभूति भयो । त्यसपछि 'जिन्दगी यो उत्सव हो...,' 'तगारोमा रुमाल राखी...', 'डाँडापारि त्यो गाउँमा...', 'लेककी हे माया...' सहित आधा दर्जनभन्दा बढी गीत लगालग प्रस्तुत गरे उनले ।

चिम सा चोयस्थित क्वाई फङ हलमा आयोजित कन्सर्टमा नेपालबाटै आएका जीवन दाहाल, काजल गुरुङ, समला राई, प्रेम परियारसिहत स्थानीय कलाकारहरूको पनि सहभागिता थियो  । किशोर उमेरका प्रेमले 'तिम्रो बोली तिम्रो सुवास...', 'मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो...' सुनाएर धेरैको मन जिते । जीवन र काजलको दोहोरी पनि राम्रै जम्यो । 

नेपाली कलाकारका लागि पानी पँधेरो बनेको हङकङमा सांगीतिक कार्यक्रम हुनु कुनै नौलो कुरो थिएन । तर यसपटकको उद्देश्य भिन्न थियो, अर्थात् नेपाली फुटबलको विकास । सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ कन्सर्ट गरिएको थियो । क्लबका हङकङ अध्यक्ष दीपक गुरुङले भने, 'नेपाली फुटबल विकासमा सक्दो योगदान पुर्‍याउने हाम्रो उद्देश्य हो ।' कन्सर्टअघि नै एकेडेमीलाई २० लाख रुपैयाँभन्दा बढी सहयोग पठाइसकेको जानकारी दिँदै उनले पोखरा-१७ दोबिल्लास्थित एकेडेमीमा क्लबले विपन्न वर्गका १४ बालकलाई निःशुल्क आवाससहित पठनपाठन, स्वास्थ्य र खेलकुदको सुविधा उपलब्ध गराएको बताए । 

0 comments: