Wednesday, August 21, 2013

उत्कृष्ट गन्तव्य गोसाइँकुण्ड

आज हिन्दूहरूको विशेष पर्व जनैपूर्णिमाको दिन। हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड हिन्दू धर्मालम्बीहरूका लागि यो दिन उचित र एकमात्र गन्तव्यको रूपमा प्रसिद्ध छ। हिमाली शृंखला र पहाडको उपत्यका रहेको गोसाइँकुण्ड धार्मिक महत्त्व त छँदै छ,

पर्यटकीय दृष्टिकोणले त अति नै ख्याति कमाएको छ।
सामुन्द्रिक सतहबाट १४ हजार फिट अर्थात् ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ छ सय मिटर र चौडाइ ३ सय ७० मिटर भूभाग क्षेत्रफमा फैलिएको छ। गंगा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने यहाँ दशहरामा भन्दा जनैपूर्णिमाको मेलामा धेरै जिल्लाका हजारौं श्रद्धालु भक्तजन र विदेशी पर्यटकहरूको जमघट हुने थलो हो गोसाइँकुण्ड। यद्यपि, बाह्य पर्यटकहरू भने जुनसुकै महिनामा पनि यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक छटा र सुन्दरतालाई हरबखत साक्षात्कार गर्न पुगिरहन्छन्। यसर्थ पनि गोसाइँकुण्डको महिमा धार्मिक, जैविक विविधता, ऐतिहासिक, पर्यटकीय, कला र संस्कृतिले धनी मानिन्छ भने यी सबै आयामहरूलाई बुझन एउटा पुस्तकमा झैं सजिलै अध्ययन गर्न सकिने थलोका रूपमा गोसाइँकुण्डलाई नै लिन सकिन्छ।
यहाँ आएर नुहाउँदा पाप पखालिने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। हिन्दूबाहेक बौद्ध र बोन्पो धर्मावलम्बीहरूको समेत यो पवित्र तीर्थस्थल हो। जनैपूर्णिमाका लागि पञ्चमीदेखि शुरू हुने मेला एकादशी र पूर्णिमाको दिन बढी भीड लाग्छ, यही यहाँको प्रमुख आकर्षण हो। पापबाट मोक्ष हुन र पुण्य कमाउन जीवनमा एकपटक पुग्नैपर्ने धार्मिक आस्थाका अनि प्रचलनका कारण धेरै टाढाबाट युवादेखि वृद्धवृद्धासमेत हिमालको काखमा रहेको कुण्डमा स्नान गर्न आइपुग्छन्। भारतको वनारस र काठमाडौंको पशुपतिनाथदेखि जोगी बाबाहरू आउने प्रचलन पुरानै हो। पशुपतिनाथबाट जटाधारी बाबाजोगीले टाउकामा भगवान् शिवजीको मूर्ति बोकेर आउँछन् भने बाबासँगै प्रहरीको टोलीसमेत खटाइएको हुन्छ।
पवित्रस्थल गोसाइँकुण्डप्रति हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्था र श्रद्धा अझै पनि उत्तिकै कायम छ। पौराणिक किंवदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवान्को सल्लाहअनुसार राक्षस र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के।
यसैक्रममा कालकुट विष पनि निस्कियो। कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे। जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भस्म गराउन सक्थ्यो। यो अवस्था देखेपछि सबै देव र दानव भगवान् शिवको शरणमा पुगेपछि दयाकारी भगवान् शिवले उक्त विष सेवन गरेका थिए। पुनः समुन्द्र मन्थनमा देवता र दानव लागिपरे। विष पिएका कारण भगवान् शिवलाई डाहा भएर छट्पटाउँदै भौंतारिएका उनले विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे। त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यहीं त्रिशूुलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ। सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ।
पुराणमा उल्लेख भएअनुसार जो कोही मानिस यो कुण्डमा साउनमास अर्थात् जनैपूर्णिमामा आएर नुहाउँछ, उसले जीवनमा गरेका सबै पाप नष्ट हुन्छ भन्ने किंवदन्ती रहिआएको छ। गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम क्षेत्र पनि हो। विषले निस्लोट भएको शिवले पहाडको भित्तामा गाडेको त्रिशूलबाट निस्किएको पानीबाट नै नदी बगेको हुँदा नदीको नामसमेत त्रिशूली हुन पुगेको विश्वास छ।
रसुवाको स्याफ्रु गाविसको उच्च स्थानमा पर्ने यस कुण्डमा पुग्न सदरमुकाम धुन्चेदेखि एक दिनको पैदलयात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ। धुन्चेबाट देउराली, च्योलाङपाटी, चन्दनबारी, लौरीविनायकको उकालोपछि गोसाइँकुण्ड पुगिन्छ। यात्राको क्रममा पटकपटक वर्षा भइरहने र अत्याधिक चिसो हुने हुनाले बाटोमा जुका लाग्ने समस्याले यात्रुहरूलाई सताउने गर्दछ। यसबाहेक ढिस्सा अर्थात् तीन हजार मिटरदेखि माथिको उचाइमा पुगेपछि लेक लाग्न शुरू हुन्छ।
चिसोले पेट फुल्ने, रिंगटा लाग्ने र बाटोमा हुने अनेकथरि फूलका कारण टाउको दुख्ने यात्रुहरूका लागि अर्को समस्या हो। गोसाइँकुण्ड यात्राको क्रममा धेरै ताल र कुण्डहरू भेट्न सकिन्छ। यहाँबाट देखिने अन्नपूर्ण, गणेश हिमाल, मनास्लु, लाङटाङलगायतका तिब्बतका हिमशृंखलाहरूले पर्यटक तथा तीर्थालु भक्तजनहरूको मनलाई रोमाञ्चित तुल्याउँछ। यहाँबाट देखिने सूर्यास्तले पनि यात्रालाई सहज बनाउन हौसला दिनुका साथै अन्य प्राकृतिक मनोरमले सबैको मन लोभ्याउँछ। बाटो आसपासमा बौद्ध धर्म मान्नेहरूले टाँगेका प्रे–फ्ल्यागहरूले आतिथ्यतापूर्वक आगन्तुक भक्तजनहरूको स्वागत गरिरहेको अनुभूति दिन्छ।
एक सयभन्दा बढी प्रजातिका फुल्ने फूल र वनस्पती, जटामसी, पदचामललगायत यस भेगमा पाइने चखेवा चखेवी, खोयाहाँस, कालिजुरे, विश्वकै अति दुर्लभ वन्यजन्तु रेडपाण्डा जस्ता वन्यजन्तुको क्रियाकलाप र दृश्यले यहाँ अर्को छुट्टै मनोरञ्जन प्रदान गरिदिन्छ। तामाङ संस्कृतिको बाहुलयता रहे तापनि यो क्षेत्रमा अन्य जातिको पनि बसोबास रहेको छ। तर, गोसाइँकुण्ड मानव बस्तीबाट एक दिनको पैदल दूरी आसपासमा मात्र भेटिन्छ। तामाङ जातिको बाहुल्यता भएका कारण पनि यो पदमार्गलाई तामाङ हेरिटेज ट्रेल भनेर प्रख्याति कमाएको छ।
गोसाइँकुण्ड क्षेत्र कुण्डैकुण्डको क्षेत्र पनि हो। यस क्षेत्रमा भैरव कुण्ड, सूर्यकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दूधकुण्ड, पार्वती कुण्डलगायतका महत्त्वपूर्ण मानिने १ सय ८ वटा कुण्डहरू छन्। कतिपय कुण्डहरू भने प्रचारमा आउन सकेका छैनन्। लाङटाङ र गणेश हिमाल आसपारमा रहेका दर्जनौँ ताल र कुण्डका बारेमा पनि अध्ययन अनुसन्धान र नामाकरण हुन बाँकी नै छन्। विश्व सम्पदा सूचीमा सूचीकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ। निकुञ्जद्वारा संरक्षित क्षेत्र भएकाले पनि त्यस ठाउँको वातावरण अत्यन्त आकर्षक र मनमोहक देखिन्छ।
गोसाइँकुण्डमा घाम लागेका बेला महादेव शिवको आकृतिजस्तो गेरु रंगको चट्टान देखिन्छ। त्यसैले यसलाई शिवकुण्ड पनि भनिन्छ। धार्मिक मात्र होइन गोसाइँकुण्डलाई अनेकौं महत्त्वले साक्षात्कार गर्नैपर्ने अपरिहार्य क्षेत्रको मान्यता बोकेको छ। ऐतिहासिक र पर्यटकीय रूपमा पनि उत्तिकै महत्त्वको ठाउँ गनिने गोसाइँकुण्डको बारेमा खोजीनीति गर्न चाहनेका लागि यो क्षेत्र एउटा दस्तावेज बन्न सक्छ। भगवान् शिवले विश्व रक्षाका लागि कालकुट विष सेवन गरेको प्रसंगसँग जोडिएको यो कुण्डको धार्मिक महत्त्वको वर्णन एकातिर छँदै छ,  नेपालका प्रथम प्रधानमन्त्री अमरसिंह थापाले आफ्नो जीवनको अन्तिम क्षण गुजारेको ऐतिहासिक महत्त्व र रामसार सूचीमा सूचीकृत भएको प्राकृतिक महत्त्व ज्यादा छ। यस कुण्डको सम्बन्ध नेपाली धर्म संस्कृति र इतिहाससँग मात्र नभएर विभिन्न जातजाति, कलासंस्कृति र साहित्यमा पनि उत्तिकै महत्त्वका साथ जोडिएको पाइन्छ। यो साँच्चिकै प्राकृतिक मनोरमताले भरिपूर्ण छ।
जनैपूपिर्णममा गोसाइँकुण्ड पुग्ने जो कसैले त्यहाँको तामाङ संस्कृतिमा रहेका तामाङसेलो, मेन्दोमायाँ, ढ्याङ्ग्रे नाच र अन्य सम्प्रदायबाट प्रदर्शन गरिएका भजन कीर्तन, खैंजरी नाँच आदिले धार्मिक पर्यटकहरूलाई रमणीय वातावरण सिर्जना गरिदिन्छ। कुण्डको निलो पानी वरिपरि उभिएका भीमकाय र अग्ला पहाड, पहाडनजिकका चाँदीझैं टल्किरहने हिमाल र हिम शृंखला, स्वच्छन्द हावा, मनमोहक वातावरण, त्यस्तो स्थान कसलाई मन नपर्ला र⁄ बरू साँच्चै नै स्वर्गको अनुभूति गर्न सकिने गोसाइँकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरूका लागि उत्कृष्ट तपोभूमि मानिन्छ। एकपटक गोसाइँकुण्डको यात्रा गर्ने हो कि? गोसाइँकुण्डको यात्राले पर्यटकहरूलाई धार्मिक दृष्टिकोणले मात्र नभएर वातावरणीय धरातलमा समेत रहेर अवलोकन गर्ने मौका प्रदान गर्छ।
लाङटाङ राष्ट्रिय निकुञ्जले संरक्षण गरेको जंगल र त्यहाँका हिमाली वन्यजन्तुले पनि गोसाइँकुण्डमा जाने मानिसहरूलाई थप आकर्षण प्रदान गर्दछन्। जनजाति र संस्कृतिसँग रुचिराख्ने मानिसहरूका लागि रसुवा जिल्लामा तामाङसंस्कृतिको बारेमा अध्ययन अनुसन्धान गर्न समेत मौका मिल्छ। तिब्बतसँग भएको नेपालको लडाइँमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल पनि गोसाइँकुण्ड जाने बेलामा पुग्न सकिन्छ। रसुवा जिल्लाको दक्षिणी भेगका ग्रामीणबस्ती सरमथली, जिवजिवे, कालिकास्थान र राम्चे वरपरका पहाडी बस्तीहरूले पनि गोसाइँकुण्ड जाने यात्रुहरूलाई रोमाञ्चित बनाउँछ। प्राकृतिक र धार्मिक सन्तुष्टि प्राप्तिका लागि सके पटकपटक नसके एकपटक पुग्नैपर्ने गतिलो गन्तव्य गोसाइँकुण्ड।

0 comments: