Wednesday, August 21, 2013

जापानिज स्वयम्सेवकसँग अनाथ बालबालिका

कसैका आमा छैनन्, कसैका बाबु । आमा बाबु कस्ता थिए धेरैले अनुहारसम्म पनि देख्न पाएनन् । कसैको बाबुआमा कालगतिले मरे, त कति राज्य र माओवादीबीचको सशस्त्र द्वन्द्वमा मारिए

। आफन्त हुनेलाई त सबैले हेर्छन्, तर अनाथ र टुहुराले आफ्ना पीडा कसलाई भन्ने? राज्य र राजनीतिक दलले समेत अनाथ र टुहुरा बालबालिकाहरूलाई चासो दिन नभ्याइरहेका बेला जापानबाट आएका युवायुवतीले यसै हप्ता अनाथ र असहाय बालबालिकाहरूसँग खुसीमात्रै साटेनन्, उनीहरूलाई खुसी पार्न विभिन्न खेलकुद कार्यक्रमसमेत गरे ।
अनेकन बाध्यताले अनाथालयमा बस्न विवश बालबालिकाहरूका लागि शनिबार काठमाडौंको कपनमा विशेष खेलकुद कार्यक्रम गरियो । जापानबाट आएको स्वयंसेवकहरूको संयोजनमा अनाथालयका बालबालिकाहरूलाई फुटबल, दौड, रिलेदेखि जापानिज सामुराई खेलसमेत खेलाइयो । कार्यक्रमस्थलमा जापानिज युवायुवतीले विभिन्न नाचसमेत देखाए ।
राजधानीका चारवटा अनाथआश्रमका ६ टिमले सहभागिता जनाएको फुटबलमा सहारा इन्टरनेसनल बुढानिलकण्ठ प्रथम, मानवीय सरोकार केन्द्र चपली द्वितीय र नवयुवा बालसुधार समाज भक्तपुर तृतीय भयो । अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ, नवलपरासी सान्त्वना भए । पहिलो हुनेलाई नगद २० हजार ५ सय, द्वितीयलाई १८ हजार ५ सय, तृतीयलाई १५ हजार ५ सय रुपियाँ, सान्त्वनालाई १५ हजार ५ सय पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरियो ।
नेपालका अनाथ तथा असहाय बालबालिकाहरूको क्षेत्रमा कार्यरत स्पेक जापान नामक संस्थाले खेलकुदको आयोजना गरेको हो । जसका लागि १६ जना जापानिज युवायुवतीको टोली एक महिना अगाडिदेखि काठमाडौं आइपुगेको थियो । उनीहरूले नै एक महिनासम्म बालबालिकाहरूलाई खेलकुदको प्रशिक्षणसमेत दिएका थिए ।
मानवीय विपत्तिबाट अनाथ आश्रमको शरण लिन बाध्य बालबालिकाहरूलाई वर्षमा एक पटक भने पनि आश्रम बाहिर निकालेर मनोरञ्जन दिलाउन यो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक गणेशमान लामाले जानकारी दिनुभयो । गतवर्षदेखि शुरू गरिएको यो कार्यक्रमले बालबालिकाहरूमा सकारात्मक प्रभाव परेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा भाग लिन जापानिज टोलीको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेका स्पेक जापानका युसुके योसोकावाले अनाथ आश्रममा बसेका बालबालिकाहरूलाई समाजमा घुलमिल गराउन यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । नेपाली बालबालिकाहरूसँग खुसी साट्न पाउँदा आफूहरू निकै खुसी भएको उहाँले जानकारी दिनुभयो ।

0 comments: