Thursday, January 30, 2014

आपत्कालीन सञ्चार सम्पर्क स्थापनामा रेडक्रस र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौँ, माघ १६ गते । आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क स्थापना गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटीबीच वाइड एरिया इन्टरनेट नेटवर्कको निःशुल्क प्रयोगसम्बन्धी सम्झौता भएको छ ।

नेपाल टेलिकम मर्मतसम्भार तथा सञ्चालन विभागका नायब प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले आज सो सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
आपत्कालीन समयमा अवरुद्ध रहेको मोबाइल, इन्टरनेटजस्ता सञ्चार सेवालाई वाइड एरिया इन्टरनेट नेटवर्कले सुचारु गर्न सहयोग गर्दछ । यसबाट विपद्को समयमा प्रभावकारी रुपमा सञ्चार सम्पर्क गरी विपद् प्रभावितलाई सेवा पुग्ने विश्वास गरिएको छ ।
विशेषगरी काठमाडौँ उपत्यकालाई लक्षित गरी आगामी पाँच वर्षका लागि सेवासम्बन्धी सम्झौता गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो  ।
सम्झौताबाट सम्भावित भूकम्पलगायत अन्य आपत्कालीन अवस्थामा उद्धारक तथा दातृनिकायमा सञ्चार स्थापना गरी द्रुत प्रतिकार्य गर्न सहयोग सिद्ध हुने दुवै संस्थाको विश्वास रहेको छ ।
“रेडक्रस जस्तो मानवीय कार्यमा संलग्न संस्थाको सेवालाई थप प्रभावकारी बनाउन र आपत्कालीन अवस्थामा पनि निर्वाद सेवा सञ्चालन र सञ्चार सम्पर्क गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुग्नेछ”, सोसाइटीका कार्यकारी निर्देशक ढकालले भन्नुभयो ।
नेपाल टेलिकमको साँगा र नगरकोटमा रहेको टावरमा नेपाल रेडक्रसले आवश्यक उपकरण जडान गरी वाइड एरिया इन्टरनेट नेटवर्क प्रयोग गर्नेछ ।

0 comments: