Saturday, January 25, 2014

ए डिभिजन लिगमा मनाङलाई तीन अंकको अग्रता

११ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार भएको खेलमा संकटालाई २–० ले पराजित गरेको मनाङको ८ खेलबाट १९ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटले मनाङलाई ६० मिनेट बढीसम्म रोकेको थियो । तर, ६६ औं मिनेटमा योनाले शुलभ मास्केको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा गोल गर्दै मनाङको जित पक्का गरे ।
अर्को खेलमा जाउलाखेलले ब्वाइज युनियनलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेलको पााचौं मिनेटमा भेट्रान खेलाडी प्रदिप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जाउलाखेल ११ औं स्थानमा छ र उसले रेलिगेशनको खतरा टार्दै लगेको छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुछारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।

0 comments: