Friday, February 14, 2014

यौनकर्मीको सङ्ख्या बढ्दै

सुर्खेत । जिल्लामा पछिल्लो छ महिनाको अवधिमा मात्रै झन्डै १५० यौन व्यवसायी महिलाको पहिचान भएको यहाँको एक गैरसरकारी संस्थाले जनाएको छ ।जिल्लामा एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले पछिल्लो छ महिनाको अवधिमा मात्रै जिल्लाका विभिन्न गाविस र नगरपालिकामा गरी १२० जना नयाँ यौन व्यवसायी महिलाको पहिचान भएको दाबी गरेको छ ।

पछिल्लो छ महिनाको नयाँ तथ्याङ्कअनुसार १२० जना नयाँ यौन व्यवसाय थपिएपछि जिल्लामा यौन व्यवसायीको सङ्ख्या ६१६ पुगेको एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रमका संयोजक चन्द्र विकले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा यौन व्यवसायीको सङ्ख्या रहेक महिनामा थपिने गरेको दाबी गर्नुभयो । “हरेक महिना नयाँ यौन व्यवसायीको पहिचान हुने गरेको छ,” उहाँले भन्नुभयो, “कतिपय सहजै खुल्ने गरेका छन्, नखुल्नेको सङ्ख्या अझ धेरै छ ।”जिल्लाको एउटा नगरपालिकासहित विभिन्न गाविसका महिला यौन व्यवसायमा संलग्न रहेको संस्थाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका, घुमखहरे, सहारे, मालारानी, राकम, दहचौर, मैनतडा, मेहेलकुना, गुमी, रामघाट, दशरथपुर, लेखफर्सा, छिन्चु, जर्बुटा, लाटीकोइली, उत्तरगङगा, बिजौरा, गुठु, विद्यापुर, सालकोट, बाबियाचौर, आग्रीगाउँ, बजेडी चौर र घोरेटा गाविसमा यौनकर्मी महिला भेटिएको संस्थाको दाबी छ । कार्यक्रमका संयोजक चन्द्र विकले यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको भन्दै त्यसमा पनि विवाहित महिला धेरै भएको जानकारी दिनुभयो । पछिल्लो छ महिनाको तथ्याङ्कमा मात्रै यौन व्यवसायमा संलग्नमध्ये विवाहित महिलाको सङ्ख्या ८७ छ भने अविवाहितको सङ्ख्या ३३ रहेको छ ।यस्तो व्यवसायमा लागेकामध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्षसम्मका रहेको विकले जानकारी दिनुभयो । गरिबी, पारिवारिक समस्या, श्रीमान्को व्यवहार, श्रीमान् घरमा नहुनुजस्ता विभिन्न बाध्यात्मक परिस्थितिका कारणले महिला यस पेसामा संलग्न हुने गरेको संस्थाको अनुमान छ । साथै द्वन्द्वपीडित, श्रीमान् विदेश गएका महिला, विद्यार्थी पनि यो पेसामा संलग्न रहेको संस्थाले बताएको छ ।
संस्थाले एचआइभी एड्स र अन्य यौन रोगको जोखिमलाई मध्यनजर गर्दै यौन व्यवसायीलाई यसबारे सचेत पार्ने तथा सुझाव दिने गरेको छ । संस्थाले असुरक्षित यौनसम्पर्कबाट बच्न सचेत गराएपछि उनीहरुले अहिले कन्डमबिना शारीरिक सम्बन्ध नराख्ने र महिना महिनामा जाँच गर्ने गरेका छन् । छ महिनाको अवधिमा ६७ जनाको रगतको निःशुल्क जाँच गरी उपचारका लागि सिफारिससमेत गरिएको संस्थाले जनाएको छ ।
पहिचान भएका यौनकर्मीमध्ये कसैलाई पनि एचआइभी पोजेटिभ भने नदेखिएको संस्थाले बताएको छ ।

0 comments: