Thursday, February 20, 2014

'हिउँले खायो मेरी छोरी'

दोलखा- उनीहरू भारतको दार्जिलिङबाट आफ्नो थातथलो घुम्न आएका थिए। यो घुमाइ जिन्दगीकै सबभन्दा पीडादायक साबित भयो। दोलखा बाबरे–८ का विष्णुप्रसाद खतिवडा आफ्नी श्रीमती, छोरा र छोरीलाई लिएर आइतबार कालिञ्चोक भगवती दर्शन गर्न जाँदा अत्यधिक हिमपात भयो। फर्कने बाटो भुलेर दुई दिन जंगलमै अलपत्र परे। सबभन्दा दुःखको कुरा, दुई दिनसम्म हिमपातबीच जंगलमा भौंतारिँदा चिसोले कठ्यांग्रिएर १३ वर्षीया छोरी नवीनाको बाटोमै मृत्यु भयो।



उनीहरू बेपत्ता भएपछि काठमाडौंमा रहेका दाजु तोया खतिवडाले प्रहरीलाई खबर गरेर खोजी थालेका थिए। स्थानीय, प्रहरी र नेपाली सेनाले मंगलबार दिउँसो उद्धार गरेर ल्याएपछि विष्णुप्रसादले बुधबार छोरीको अन्तेष्टी गरेका छन्। उनी, पत्नी सिर्जना र छोरा नवीनको हाल दोलखा बजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।
२०५३ सालमा रोजगारका लागि दार्जिलिङ गएका थिए, विष्णुप्रसाद। उतै छोराछोरी जन्मिए। नेपाल फिर्ने अवसर जुरेको थिएन। यसपालि छुट्टीको मौका पारेर छोराछोरीलाई थातथलो देखाउन सपरिवार आइतबार सदरमुकाम चरिकोट आइपुगेका थिए।
कालिञ्चोक भगवतीको भाकल रहेकाले गाउँ जानुअघि मन्दिर दर्शन गर्न जाने पतिपत्नीको सल्लाह भयो। त्यहीअनुसार चरिकोटबाट कालिञ्चोक लागेका उनीहरूले भगवतीको दर्शन गर्न त भ्याए, तर फर्कंदा बाटो भुले। त्यतिबेला कालिञ्चोकमा भारी हिमपात भएको थियो।
'छोराछोरीको स्कुल छुट्टी थियो, बाउबाजेको थातथलो र आफ्नो जन्मभूमि देखाउने इच्छाले सपरिवार आयौं,' विष्णुप्रसादले बुधबार नागरिकसँग भने, 'मन्दिरमा भाकल रहेकाले आइतबार बिहान ५ बजे नै उठेर चरिकोटबाट मन्दिर गयौं।'
चरिकोटबाट १७ किलोमिटर टाढा रहेको कुरीभञ्ज्याङसम्म मोटरबाटो छ। नियमित बस चल्दैन। गाडी रिजर्भ गरेर लैजानुपर्छ। त्यस दिन बिहानैदेखि पानी परेकाले रिजर्भ गाडी पनि पाइएन। उनीहरू हिँडेरै कुरीभञ्ज्याङ पुगे। त्यहाँबाट एक घन्टा उकालो चढेपछि ३ हजार ८ सय मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगे। शुक्रबार र शनिबार परेको हिउँले कालिञ्चोक क्षेत्र पूरै सेताम्मे थियो।
'कुरीभञ्ज्याङ पुगेपछि छोराछोरीले भोक लाग्यो भने, उनीहरूलाई हल्का नास्ता गराएँ, दर्शन गर्न जान लागेकाले म र श्रीमती चाहिँ भोकै उकालो लाग्यौं,' विष्णुप्रसादले भने।
मन्दिर पगेर फर्कने बेला साँझको ४ बज्नै लागेको थियो। मन्दिरछेउको चिया पसलमा खाजा खाएर उनीहरू कुरीभञ्ज्याङ बजारतिर झरे। त्यतिबेला बादल मडारिएर पानी पर्न थालिसकेको थियो। उनीहरू हिउँले ढाकिएको चिप्लो बाटोमा सुस्तसुस्त अघि बढ्दै थिए। बादलले आकाश ढाकेर अन्धकार छाएको थियो। जब बजारनजिकैको फाँटमा पुगे, वरिपरि सेताम्मेबाहेक केही देखिएन। यहीँनिर उनीहरूले बाटो भुले। बजारतिर झर्नुको साटो सोझै दाहिनेतिर हान्निए। त्यहाँबाट बजार केही पाइलामात्रै पर थियो, तर उनीहरू लगातार चार घन्टा हिउँको बाटो हिँड्दा पनि गन्तव्य भेट्न सकेनन्।
हिँड्दा–हिँड्दा भिरमा पुगेपछि मात्र उनीहरूले बाटो भुलेको चाल पाए। श्रीमती र छोरी दुवै रुन थाले। सबैजना चिच्याए। कराए। गुहार मागे। तर, कसैले सुनेनन्।
'छेउको भिरमा सानो ओडार रहेछ, त्यहीँ गएर रातभरि रोयौं,' अस्पतालको शैयामा आँसुका बलिन्द्र धारा बगाउँदै विष्णुप्रसादले भने।
उनीहरूसँग मोबाइल त थियो, तर चार्ज सकिएकाले कसैलाई फोन गर्न सकेनन्। धन्न मन्दिरबाट तल झर्ने बेला राजधानीमा रहेका दाजु तोयाको परिवारलाई खबर गरेका थिए। 'उहाँहरूले मन्दिरबाट सोझै झर्नू भनेर बाटो बताइरहनुभएको थियो, तर कुरा गर्दागर्दै मोबाइलको चार्ज सकियो,' विष्णुले भने।
भोलिपल्ट घाम झुल्किएपछि पनि उनीहरूले बाटो खुट्ट्याउन सकेनन्। वरिपरि भिरपाखा र जंगलबाहेक केही देखेनन्। त्यो दिन पनि बस्ती भेटिन्छ कि भनेर लगातार हिँडिरहे। चप्पल लगाएकी पत्नी सिर्जनाको खुट्टा हिउँले फुटिसकेको थियो। छोरी नवीनाले चप्पलसँग मोजा लगाएकी थिइन्। दिनभरि हिँड्दा–हिँड्दा दुवैको खुट्टा हिउँले खाइसकेको थियो। खुट्टा पटपटी फुटेर रगत बग्न थालिसकेको थियो।
त्यस दिन साँझसम्म हिँड्दा पनि उनीहरू अलपत्रै परिरहे।
'जति हिँडे पनि जंगलबाहेक केही भेटेनौं,' श्रीमती सिर्जनाले भनिन्, 'सबैको मनमा रुख, भिरपाखा, पहरा देखे पनि मानिस र बस्ती देखेको तर्कना आइरहन्थ्यो।'
त्यतिबेलासम्म चिसो र लगातारको हिँडाइले छोरी नवीना थला परिसकेकी थिइन्। उनी एक पाइला सार्नधरी असमर्थ थिइन्। त्यसपछि विष्णुले छोरीलाई सम्हालेर पत्नी र छोरालाई सहयोग खोज्न केही माथि पठाए। सहयोगको खोजीमा निस्केका आमा–छोरा फर्कंदासम्म छोरीको ज्यान गइसकेको थियो।
यसबीच सोमबार रातिसम्म पनि उनीहरू घर नफर्केपछि दाइ तोयाले प्रहरीलाई खबर गरे। मंगलबार बिहानै सदरमुकाम चरिकोटबाट प्रहरी र नेपाली सेनाको टोली खोजी र उद्धारमा खटियो। दिउँसोतिर मोबाइलको लोकेसन र कुरीभञ्ज्याङबाट झन्डै ३ घन्टा पर रहेको भिर नजिकै जंगलमा उनीहरू हिँडेको पाइला फेला पर्योज। सुरक्षाकर्मी त्यसैलाई पछ्याउँदै अघि बढे।
'सेनाले डोरीको सहायताले उनीहरूको उद्धार गर्योर,' विष्णुप्रसादका भिनाजु मित्रप्रसाद भण्डारीले भने।
हिउँले खाएर श्रीमती सिर्जनाको खुट्टा र छोरा नवीनको हातको अवस्था गम्भीर छ। आफन्तले बुधबार सदरमुकाम चरिकोटमै छोरीको दाहंसस्कार गराए।
'दैवले चोरेर लग्यो मेरी छोरीलाई,' विष्णुप्रसादले कुरा गर्दागर्दै भक्कानो छाडे, 'हिउँले खायो।'
उनकी छोरीले दार्जिलिङको स्थानीय सरकारी स्कुलबाट उत्कृष्ट अध्ययनबापत छात्रवृत्ति पाएकी थिइन्।
कालिञ्चोक क्षेत्रमा दैनिक सयौं पर्यटक आवतजावत गर्ने भए पनि बाटो ओहोरदोहोर गर्ने सांकेतिक चिह्न नभएकाले यस्तो घटना भएको भिनाजु मित्रप्रसादले सुनाए। 'त्यति उचाइमा हजारौं पर्यटक जान्छन्, हिउँ पर्छ भन्ने राज्य र स्थानीय निकायलाई थाहा छ,' उनले आक्रोश पोखे, 'त्यति साइनबोर्ड र पथचिह्न राखिदिएको भए ती नानी बाँच्थिन्।'

0 comments: