Sunday, February 2, 2014

फेसबुकको प्रेम, न्यूयोर्ककी ‘पार्टी गर्ल’ हरियाणाको गाउँमा

अमेरिकाको क्यालिफोर्नियाकी एड्रियाना पेरल फेसबुकबाट प्रेम गाँसिएका भारत हरियाणाका मुकेश कुमारसँग विवाह गरेर उनको घर गोठ स्याहार्दैछिन् ।

क्यालिफोर्नियाकी ४१ वर्षीय एड्रियाना र उनीभन्दा १६ वर्ष कान्छा भारत हरियाणको गाउँका युवक मुकेशको फेसबुके प्रेम यसरी झाँगियोकी अन्ततः एड्रियानाले भारत आएर मुकेशको सिंदुर पोते लगाइन् । क्यालिफोर्नियाकी ‘पार्टी गर्ल’ अहिले मुकेशको परिवारसहित घर गोठको जिम्मेवारी सम्हालेर खुशीसाथ बसेकी छन् ।

मुकेशसँग फेसबुकमा चलेको रोमान्स र विश्वासले एड्रियाना आफ्नी २५ वर्षकी छोरीलाई अमेरिकामै छोडेर गत अगस्त महिनामा भारत आइन् र भारतीय युवकसँग विहे गरिन् । अहिले उनी घर सफा गर्ने, खाना बनाउने, खेतमा काम गर्ने, वस्तुभाउ स्याहार्ने लगायतका ग्रामिण गृहणीका सबै काम गर्दै कहिल्यै नपाएको खुशी पाएको बताउँछिन् ।
आफू मुकेशसँग निकै खुशी भएको र उनलाई कुनै पनि मूल्यमा छोड्न नसक्ने बताउने एड्रियानाले अमेरिकामा छँदा आफू धेरै सम्बन्धमा गाँसिए पनि साँचो प्रेम पाउन नसकेको बताउँछिन् । उनले एक वर्षअघि मात्रै फेसबुकमा मुकेशसँग भेट भएको बताइन् ।
फेसबुकमा झाँगिएको प्रेम अभिव्यक्त गर्न एक साँझ मुकेशले एड्रियानालाई एसटिडी कल गरेरै आफू उनको प्रेममा डुबेको बताए । एड्रियाना भन्छिन्, “त्यसबेला के प्रतिक्रिया दिउँ जस्तो भयो र हाँसे मात्रै ।” त्यसपछि उनीहरुको फोनवार्ताको क्रम बढदै गयो र उनले मुकेश आफ्नो प्रेममा गम्भीर भएको थाहा पाइन् उनी भन्छिन, “त्यसपछि मैले भारत आउने निर्णय गरें, मुकेशसँगै बाँच्ने–मर्ने निधो गरेर ।”
एड्रियानाले आफू भारत जाने निर्णय सुनाएपछि उनका आफन्त, साथी र छोरीले त्यसो नगर्न धेरै अनुनय गरेका थिए । “छोरीले त रुँदै मुकेश भन्ने कोही बदमाश होला, भारत महिलाका सुरक्षित ठाउँ हैन नजानुस भनेकी थिई” उनी भन्छिन, “मैले छोरीलाई सम्झाएँ पनि केही द्विविधा भने थियो तर, दिल्ली एअरपोर्टमा मुकेशलाई देखेपछि मेरो खुशीको सीमा रहेन । ”
“शुरुशुरुमा त यहाँको सबै कुरा अचम्म लाग्थ्यो, वाथरुम, चर्पी, घर बाहिरको भान्सा र गाइबस्तुसँगैको बेडरुम सबै अचम्म,” उनी अनुभव सुनाउँछिन, “तर अहिले बुझिसकें सुखी र खुशी हुन सुविधा होइन माया चाहिंदो रहेछ ।”
नजिकैको बजारदेखि आधाघण्टाको दुरीमा रहेको मुकेशको गाउँ पोपरानमा एड्रियानाले गुइँठा बनाउन समेत सिकिसकेकि छन् ।
एड्रियानाले अब भारतीय रहन(सहन र भारतीय पहिरन लगाउँछिन् । उनी भन्छिन, “यहां गाउँमा विदेशीहरु देखिंदैनन् त्यसैले म जहाँ गए पनि मलाई हेर्न मान्छेको भीड जम्मा हुन्छ, लाग्छ म कुनै सेलेब्रेटी हुँ, तर अब यो सबैको बानी परिसकेको छ ।”
मुकेशले एड्रियानासँग अंग्रेजी भाषा सिक्दै छन् र भन्छन, “ एड्रियाना इज ए गुड वाइफ, उनले घरको सबै काम गर्छिन्, आमाले खाना पकाउँदै गर्दा यो त मेरो काम हो भन्छिन् । म उनीसँग धेरै खुशी छु ।”
एड्रियानकी सासु विमलादेवी भन्छिन, “छोराले विदेशी बुहारी भित्र्याएकोमा खुशी लागेको छ, उसले मेरो सम्मन गर्छे उसको सट्टा यही गाउँकी कुनै बुहारी ल्याएको भए पनि यति धेरै रमाइलो हुँदैनथ्यो होला ।”
यो जोडीले आफ्नो परिवार बढाउने बारेमा पनि सोच्दै छ । एड्रियाना भन्छिन, “सासुलाई त दुईवटा नाति–नातिनी चाहिएको छ ।” उनलाई एकपटक आफ्नो परिवार लिएर अमेरिका जान पनि मन छ ।
“मेरो यो नयाँ घर र गाउँका मान्छे असाध्यै राम्रा छन, मलाई सबैले मुटुमै राखेका छन् ।”

0 comments: