Friday, February 14, 2014

पोषराजले भने- अल्लारे पारामै लभ परेर विवाह गरियो

२ माघ काठमाडौं । यदि तपाईंले बाटोमा बसेर आफ्नो काममा हिँडिरहेकी युवतीलाई जिस्क्यााउनुभयो भने कस्तो जवाफ पाउनुहुन्छ ? चप्पल, झापड वा गाली हुन सक्छ । तर, व्यापार विज्ञ डा. पोषराज पाण्डे यस्ता भाग्यमानीमा पर्छन् । उनले जुन युवतीलाई बाटोमा बसेर जिस्क्याए, उनैसँग विवाह गर्न पुगे ।


भनिन्छ, प्रेममा कुनै सीमा रेखा हुँदैन । प्रेमले देश, जात, धर्म, वर्ग केही पनि भन्दैन । प्रेम भावनाबाट पलाउने हुँदा जुनसुकै समयमा जो कसैसँग पनि हुन सक्छ । प्रेममा बाँधिन एकापसमा आत्मीयता बढ्नु पर्छ । भारतीय युवती आरती शर्मासँग प्रेम सम्बन्धमा बाँधिएर कसरी विवाह हुन पुग्यो, पाण्डे आफ्नो प्रेम र विवाहबारे यसो भन्छन् ः
१९९० तिरको कुरा हो, मैले भारतको चण्डीगढस्थित पञ्जाब युनिभर्सिटीमा इकोनोमिक्स विषय अध्ययन गरिरहेको थिएँ । क्याम्पसमा केटी जिस्क्याउँदै हिँडिन्थ्यो । अल्लारे उमेरमा केटीहरुसँग जिस्किनु स्वाभाविक पनि हो ।
एकदिन म युनिभर्सिटीबाहिर बसिरहेका बेलामा केटीहरु हिँडिरहेको देखेँ । अनि उनीहरुलाई अल्लारे पारामा जिस्काएर हिँडें । जिस्क्याउँदासम्म थाहा थिएन, उनीहरु मेरै युनिभर्सिटीका विद्यार्थी हुन् भनेर । पछि थाहा भयो उनीहरु मेरै युनिभर्सिटीमा नै पढ्ने विद्यार्थी रहेछन् । उनीहरुमध्येकी थिइन् आरती शर्मा  ।
त्यतिबेला उनलाई जिस्क्याएर हिँडियोे, केही दिन भेट नै भएन । मैले त्यतिबेला जिस्क्याउँदा उनलाई मन पराएरभन्दा पनि अल्लारे पारामा जिस्क्याएको थिएँ । उनले जिस्काउँदा मलाई ‘नोट’ गरेकी रहिछन् । त्यसबेला कुनै प्रतिक्रिया जनाएकी  थिइनन् । पछि भेट हुँदा मलाई जिस्क्याउने केटा यहाँ रहेछ भन्ने लागेको थियो रे ।
सोही युनिभर्सिटीमा मेरो एकजना जुनियर साथी थियो । मैले जिस्क्याएकी केटी त जुनियर साथीको साथी रहिछन् । एक दिन म र ऊ लाइब्रेरीमा पढिरहेका थियौं । त्यो केेटी मेरो जुनियर साथीलाई भेट्न लाइब्रेरीमा आई । दुबैको देखादेख भयो । अनि उनीसँग औपचारिक चिनजान भयो । सम्पर्क बढ्दै गयो । विस्तारै एकले अर्कालाई मन पराउन थालिसकेका रहेछौं । एकदिन मैले विवाह प्रस्ताव राखें ।  उनले पनि स्विकारिन् ।
Posh-Raj-Pandee-(2)
म पढाइ सिध्याएर नेपाल फर्किएँ । त्यतिबेला अहिलेजस्तो सस्तो फोन सुविधा पनि थिएन । इन्टरनेटको सुविधा पनि थिएन । यसले गर्दा हाम्रो नियमित सम्पर्क भएन ।  फोनमा महिनाको १२/१५ सय रुपैयाँ खर्च हुन्थ्यो । साथै, हुलाकमार्फत् कार्ड  आदानप्रदान हुन्थ्यो । अहिले पनि ती कार्डहरु घरमा भेटिन्छन् ।
हाम्रो प्रेम अरुहरुको जस्तो ‘एक्साइटेड’ थिएन । भेट भयो, चिनजान भयो, मन परायौं, बुवाआमाले मागिदिनु भयो अनि विवाह गर्‍यौं । उनी इन्डियन हुन् । उनका बुवा रिटायर्ड आर्मी अफिसर हुनुहुन्छ ।
हाम्रो विवाह काठमाडौंमा नेपाली परम्पराअनुसार भएको हो । विवाहमा उनका बुवा, आमा, इष्टमित्रहरु यहाँ आउनुभएको थियो । मेरो घर पाल्पा भएपनि काठमाडौंबाट विवाह गरेको हुँ ।
हाम्रो दाम्पत्य जीवन राम्रोसँग चलिरहेको छ । उनी काठमाडौं मेडिकल कलेजमा पढाउँछिन् । विवाहपछि उनले बेलायतबाट पिएचडी गरिन् । हाम्रा दुई छोरा छन् ।
अन्तरदेशीय विवाह भएपनि हामीबीच राम्रो समझदारी छ । जुन देशको भएपनि समझदारी आफै कायम गर्ने कुरा हो । दुबैको संस्कार फरक भएपनि उनी नेपाली समाजमा घुलमिल भएर बस्न सकिन् । अहिले म नेपाली बोल्दा धेरै अंग्रेजी शब्द मिसाउने गर्छु, उनी नेपाली बोलिन् भने एउटा पनि हिन्दी र अंग्रेजी शब्द नमिसाई बोल्ने गर्छिन् ।
उनको परिवारमा बुवाले तिमी अंग्रेजी बोले पुरै अंग्रेजीमा बोल, हिन्दीमा बोले पुरै हिन्दी बोल भनेर सिकाउनुहुन्थ्यो रे । त्यसकै प्रभावले हुन सक्छ, उनी शुद्ध एउटै भाषा बोल्न रुचाउँछिन् ।

0 comments: