Friday, February 14, 2014

नेपालको दोस्रो जित, भुटान ५ विकेटले पराजित

थाइल्याण्डमा जारी एसीसी महिला प्रिमियर क्रिकेटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ५ विकेटले हराएको हो । १ सय ४ रनको सामान्य चुनौती नेपालले २६ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।



खराव सुरुवात गर्ने क्रममा १७ रन जोड्दा सुरुवातका ३ विकेट गुमाएको नेपालका लागि रुविना क्षेत्रीले अलराउण्ड प्रदर्शन गर्ने क्रममा अविजित रहँदै ३१ रन जोडेसँगै नेपालको जित सुनिश्चित भएको हो । त्यसैगरी, ममता थापाले २० रन बनाइन् ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कसिलो बलिङ गर्ने क्रममा भुटानलाई १ सय ३ रनमै रोकेको थियो । भुटानले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ्ग गर्ने क्रममा सोनु खड्का र रुविना क्षेत्रीले २–२ तथा सीता मगर र रेखा रावलले समान १–१ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा इरानलाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको नेपालले दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग ८ विकेटको हार बेहोरेको थियो ।

एसीसीले पहिलो पटक ४० ओभरको ढाँचामा आयोजना गरेको प्रिमियर क्रिकेटमा एसियाका टेष्ट नखेल्ने ६ राष्ट्रहरु सहभागी छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्ने भएकाले फाइनल प्रवेशका लागि नेपाललाई अबका सबै खेलमा फराकिलो जित हात पार्नुपर्ने जरुरी छ ।

चौंथो खेलमा नेपालले आइतबार चीनको सामना गर्नेछ । त्यसैगरी, अन्तिम खेलमा नेपालको भिडन्त सोमबार चीरपरिचित प्रतिद्धन्द्धी हङकङसँग हुनेछ ।

0 comments: