Friday, February 21, 2014

मृत्युदण्ड सुनाइएका अनिशलाई बचाउन सहयोगको ओइरो

विभिन्न देशबाट हालसम्म ७५ लाख संकलन
९ फागुन, काठमाडौं । यूएईमा मृत्युदण्ड सुनाइएका संखुवासभा मत्स्यपोखरीका अनिश खालिङ राईलाई बचाउन सहयोगको ओइरो लागेको छ । हालसम्म विभिन्न देशमा रहेका नेपालीहरुबाट ७५ लाख रुपैयाँ संकलन भइसकेको छ ।


शुक्रबार दक्षिण कोरियामा रहेका नेपालीहरुबाट संकलित २५ लाख रुपैयाँ अनिशको परिवारलाई हस्तान्तरण गरिएको छ । एनआरएन कोरियाका सल्लाहकार  मनोज डाँगीले खालिङकी श्रीमति रविता र अनिस खालिङ राई बचाउ समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
उनले २३ वषिर्य अनिश निर्दोष भएकाले उनलाई वचाउनका लागि कोरियाका नेपालीले सहयोग गरेको बताए । अनिशको जीवन रक्षाका लागी पहल गरिदिन उनको परिवारले पनि सरकारसँग पहल गरेको छ ।
अनिश खालिङ राई बचाउ अभियानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा खालिङकी श्रीमति रविता खालिङ राईले सरकारसँग आफ्नो श्रीमानलाई बचाउन अपील गरेकी हुन् ।
अनिशलाई बचाउन ‘ब्लड मनि’ स्वरुप झण्डै ८६ लाख रुपैयाँ बुझाउनुपर्छ । अभियान शुरु भएसँगै अहिले विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली संघ, विभिन्न संघ-संस्था तथा व्यवसायीहरुले अनिश राईको जीवन रक्षाको लागि सहयोग रकम जुटाउने अभियानलाई तिब्रता दिइरहेका छन् ।
आर्थिक अवस्था कमजोर भएको उनको परिवारमा यो घटनासँगै ठूलो संकट परेको छ । आफूले राम्रो पढ्न नपाएपछि पैसा कमाएर छोरीलाई धेरै पढाउँला भन्दै २०६८ असोजमा अनिश विदेशिएका थिए । विदेशिएको ६ महिनामै उनी हत्या अभियोगमा यूएईको जेलमा परेका थिए । मुद्धाको सुनुवाइपछि अबुधावीको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
खालिङको परिवारका २३ वषिर्या श्रीमति रविता, नाबालक छोरी रितु र  ५७ वषिर्या आमा डिकमाया न्यायको खोजीमा राजधानीमा विलौना गरिरहेका छन् । अनिस वचाउ अभियान समितिका सहसंयोजक सुजन खालिङले व्लड मनिको रुपमा तोकिएको रकम पहिला २ लाख दिराम भएपनि अहिले वढाएर ३ लाख ५ हजार दिराम पुर्‍याएको बताए ।
अनिशलाई बचाउनका लागि सहयोग गर्न चाहनेहरुले अनिसकी श्रीमति रविता र समितिका संयोजक नारदकुमारको संयुक्त नाममा रहेको ग्लोबल आइएमई वैंकको खाता नं ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सकिनेछ ।

0 comments: