Saturday, March 1, 2014

'छ एकान छ' लाई अष्ट्रेलियामा २० लाख

नेपालमा सफल हास्यब्यङ्ग फिल्म 'छ एकान छ' ले अष्ट्रेलियामा २० लाख रुपैयाँ संकलन गरेको छ । दर्शकहरुको चाहना अनुसार उक्त चलचित्रलाई आयोजकले ४ शो थप गर्नुपरेको छ ।



सिड्नीका साथै अष्ट्रेलियाकै सातवटै प्रमुख सहरहरुमा प्रदर्शन भइरहेको यो चलचित्रलाई यहाँका दर्शकहरुले अत्याधिक मन पराएको आयोजकले बताएको छ । सिड्नीमा ५ सो र अन्य शहरहरुको सबै शो हाउसफुल भएको छ । सिड्नीका साथै यो चलचित्र ब्रिसबन, एडिलेड, पर्थ, मेलबर्न, गोल्डकोष्ट, डार्बिन र तास्मानियामा प्रदर्शन गरिरहिएको छ । एजुकेशन पार्क र प्यासिफिक हिमालयन मनी ट्रान्सफरले यो चलचित्रलाई १० लाख ५० हजार तिरेर अष्ट्रेलियाभरि प्रदर्शनको अनुमती लिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष भूपाल सिटौलाले अहिलेसम्मको कलेक्सन हेर्दा करिब २० लाखको हाराहारीमा टिकट बिक्रीबाट रकम संकलन भएको सुनाए । उनका अनुसार सबै सहरहरुमा हाउसफुल भइसकेको यो चलचित्र ६ हजारभन्दा बढी दर्शकहरुले हेरेर मनोरञ्जन लिनेछन् । उक्त चलचित्रले करिब डेढ बर्षअघि ल्याइएको चलचित्र लुटकै हाराहारीमा सफलता पाएको छ । 'वास्तवमा राम्रो चलचित्र निर्माण गर्ने हो भने बिदेशमा पनि नेपाली चलचित्रले बजार पाउँछ भन्ने यो प्रमाण हो,' अध्यक्ष सिटौलाल भने । उनले चाँडै नै यस्तै गुणस्तर भएको नेपाली चलचित्र प्रदर्शनको लागि ल्याउने तयारी भइरहेको सुनाए ।

सिड्नीमा जम्मा ५ शो मात्र गर्ने उद्देश्य राखिएको भएपनि दर्शकको अनुरोधका कारण आयोजकले ४ शो थप गरेको छ । यसैगरि नारी हकहितमा काम गरिरहेको संस्था नारी निकुञ्जलाई समेत एक शो प्रदर्शनका लागि सित्तैमा चलचित्र उपलब्ध गराएको छ ।



तितो सत्य, जिरे खुसार्नी लगायतका हाँस्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, निता ढुङ्गाना, सिताराम कट्टेल, केदार घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्र हास्यरसले भरिनुका साथै सामाजिक सन्देश समेत रहेको छ । दर्शकहरुले चलचित्रलाई अहिलेसम्मकै उत्कृट चलचित्र भएको बताए । सिड्नीमा चलचित्र हेरेर फर्किएका प्रकाश खरेलले लामो समयपछि गुणस्तरीय चलचित्र हेर्न पाएको प्रतिक्रिया दिदै यस्तै चलचित्र निर्माण गर्नुपर्ने सुझाव दिए ।

पछिल्ला समयमा नेपाली चलचित्रहरुले अष्ट्रेलियामा राम्रो बजार लिदै आइरहेको छ । नेपालमा बनेका सबै चलचित्रले अष्ट्रेलियाको बजार नपाएपनि नेपालमा सफल मानिएका प्राय चलचित्रहरुले अष्ट्रेलियाका नेपाली दर्शकहरुको राम्रो माया पाउँदै आएका छन् ।

0 comments: