Wednesday, March 5, 2014

चराले पनि गर्छन् सम्बन्ध बिच्छेद

काठमाडौं, फागुन २१ - एक अर्कासंग चित्त नबुझे दाम्पत्य जीवनमा समस्या आउन कुनै नौलो होइन ।

एक अर्कासंग संगै जीवन बिताउन कठिन माने महिला/पुरुषले सम्बन्धबिच्छेद गर्नुलाई सामान्य रुपमै लिईन्छ, तर त्यस्तो सम्बन्धबिच्छेद मानिसले मात्रै होइन चराले पनि गर्छन् भन्दा अनौठो लाग्न सक्छ ।

एक अध्ययनका अनुसार चराका केहि यस्ता प्रजाती हुन्छन्, जसले आफ्नो पति/पत्नी भन्दा अरु चरा आकर्षक देखे वा दाम्पत्य जीवनमा खटपट भए सम्बन्ध तोड्ने गर्छन । अध्ययन अनुसार यस्ता चराले आफ्नो जोडीसंग झगडा भएमा वा अर्को चरा सुन्दर देखे सम्बन्धविच्छेद गर्न ढिला गर्दैनन ।
केहि चराहरु सम्बन्ध बनाउन पनि शौखिन हुने गरेकाले पनि उनीहरुको सम्बन्ध लामो समयसम्म नटिक्ने भारतको अलिगढ मुस्लिम युनिभर्सिटीका वन्य जन्तु विभागका प्रोफेसर एचएसए याहयाले गरेको अध्ययनमा पत्ता लागेको छ । उनले ४० वर्षदेखि चराका बारेमा अध्ययन गर्दै आएका छन् ।
सानो तोपचरा सबै भन्दा धेरै जोडी बनाउने प्रजातिमा पर्छ । भाले चराले गुँड बनाउँदा बनाउँदै आधीमा नै छोडिदिन्छ र जोडी पाएपछि दुईटै मिलेर गूँड बनाउने गर्छन् भने पोथी चराले राम्रो भाले भेटे पुरानो जोडीलाई छोडिदिने गरेको छ । यस्तै भाले मयूर जोडी खोज्न खप्पिस हुन्छन् । जोडी बनाउनका लागि विशेष खालको आवाज निकालेर नाच्ने भाले मयूरको कलाबाट पोथी मयूर निकै प्रभावित हुने गरेका छन् ।
अमेरिकन मोकिंग वर्ल्ड, पोलिएन्ड्री र वर्ल्ड अफ प्याराडाईज प्रजातिका चरामा पोथीहरु एक भन्दा बढी भालेसँग सम्बन्ध कायम गर्ने गर्छन् । एक भन्दा बढी भालेसँगको सम्बन्ध नै सम्बन्ध बिच्छेदको मुख्य कारण बन्ने गरेको छ ।
गलत साथीको चयन वा आफ्नो जोडी दुर्घटनामा घाईते भए भाले या पोथी दुवैले जोडी तोड्ने गरेका छन् । आफ्नो जोडी भन्दा बाहेक अरु भाले बढी आकर्षक भए पोथी चरा साथी छोड्न ढिलाई गर्दैनन् ।  
चराविद् हेमसागर बरालका अनुसार यो एउटा प्राकृतिक प्रक्रिया नै भएकाले अनौठो मान्नु पर्दैन । बराल भन्नुहुन्छ ‘केहि प्रजातिका चरा एक पटक जोडी बनेपछि जीन्दगीभर जोडी टुटाउँदैनन भने केहि चराको गुण नै सम्बन्ध धेरै बनाउने खालको हुन्छ ।’

0 comments: