Monday, March 17, 2014

क्रिकेटले राष्ट्रियता जुरुक्कै उचाल्दा

काठमाडौ, चैत ३ – सार्वजनिक कार्यक्रममा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्ने नेताहरुको विचार र भावना आइतबार एउटै बन्यो ।

फेसबुक र ट्वीटरमा नियमित छाइरहने नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालका शीर्ष नेताहरुले आइतबार सार्वजनिक गरेको विचार हेरौं:
बाबुराम भट्टराई: ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाली टिमले हङकङमाथि शानदार जित हासिल गरेर सम्पूर्ण नेपालीको शिर उचो गरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र वसन्त रेग्मी ले यो जितमा विशेष भूमिका निर्वाह गरे । सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद र वधाइ ।
कमल थापा: Congrats Nepali cricket team for the wonderful win. Historic debut. Today you guys have made our nation proud. Keep it up.
रामशरण महत:  Congratulations boys,Shakti Gauchan in particular! You ve famished a team that many considered formidable for u until a few hours ago !
Remarkable bowling, Cricket Nepal destined for a big win over Hong Kong. Keep it up boys ! Good show by Cricket Nepal in batting ! Well done, expect bawlers to show their mettle!
शंकर पोखरेल: बधाई छ नेपाली क्रिकेट टोलीलाई , राम्रो खेलका लागि । नेपाली क्रिकेटलाई प्रोत्साहन दिन भोली नै सरकारले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने रकम उपलब्ध गराउने घोषणा गर्नु राम्रो हुन्छ ।
राजनीतिक दलका नेताहरुको मात्रै होइन, फरक विचार र धारणा राख्ने सबैको भावना आइतबार यस्तै साझा थियो । त्यो र यो, म र तँ भनेर मनमुटाव गरिरहनेहरुको मन एउटै बनाउने काम गरेको थियो बंगलादेशमा भइरहेको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटले । त्यो दल र यो दल भनेर आपसमा मारमुङ्ग्री गरेपनि खेलले आपसमा दलदल होइन, एकताको बल प्रदान गर्छ भन्ने कुरा आइतबार पनि पुष्टी भयो ।
बंगलादेशको राजधानी ढाकाबाट पनि निकै परको ठाउँ चटगाउँ आइतबार सबै नेपालीका लागि आफ्नै आँखा अगाडिको आँगन सरह भयो । लेखपढ र कामको सिलसिलामा बंगलादेशमा रहेकाहरु त मैदानमै पुगेका थिए । कतिपय त खेल हेर्नकै लागि नेपालबाटै बंगलादेश गएका थिए ।  देशभित्र र बंगलादेशभन्दा बाहिरी देशमा रहेका नेपालीहरुलाई पनि चटगाउँ आफ्नै गाउँ र ठाउँजस्तो भयो । नेता, अभिनेता, सरकारी कर्मचारीदेखि गाउँठाउँका साधारण किसानले पनि टेलिभिजनको पर्दामा आफैंले बलिङ र ब्याटिङ गरेजसरी मज्जाले खेल हेरे ।
नेपाल लेखिएको जर्सी लगाएका आशालाग्दा युवा खेलाडी । ‘नेपाल, नेपाल, नेपाल...’ भन्दै हातमा चन्द्रसूर्य अंकित राता झण्डा, गालामा पनि झण्डा र देशको नाम पेन्टिङ गरेका युवायुवतीको उत्साह । टेलिभिजनको पर्दामा आँखा झिमिक्क नगरी बसेका दर्शक ।
बेलुकी साँझ पर्ने बेला चटगाउँको मैदानमा जब नेपाली खेलाडी ओर्लिए, त्यसपछि टेलिभिजन हेरिरहेका दर्शकको मन ढक्क फुल्यो । राष्ट्रिय गानको धुन गुञ्जन थालेपछि सबैलाई जुरुकजुरुक बनायो । नेपाली झण्डा फहराएसँगै राष्ट्रियताको भावना सलबलाउन थाल्यो । खेल अवधिभर सबैले नेपाल र नेपाली मात्र सम्झे । आपसी वैमनश्यता र मनमुटाब चटक्कै बिर्सिए ।
खेलाडी ११ जना भएपनि टेलिभिजन हेर्ने सबैलाई आफैंले खेल खेले झैं बनायो । ‘थुक्क, ला, उफ्...’ भनेर चुकचुकाउनुभन्दा हुर्रे, स्याबास् भनेर उफ्रने क्षण मात्रै आयो । गालीभन्दा तालीको वर्षा भयो । मनमा निराशा भन्दा आशा र उत्साह मात्रै बढायो । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामीको जय जयकार भयो । दिनभरि होली मनाएर नुहाईधुवाई गरेर क्रिकेट हेर्न बसेकाहरुलाई मध्यरातमा फेरि जितको खुशीयाली मनाउने अवसर जुर्‍यो ।
सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियताको भावनाले प्रफुल्ल पार्ने, फरफराएको झण्डा र गुञ्जिएको राष्ट्रिय गानले जुरुकजुरुक बनाउने अवसर यस्तै क्षणमा मात्र दोहोरिन्छ । विश्वकप क्रिकेटले आइतबार ल्याएको खुशीयाली र एकताको भावना मंगलबार फेरि दोहोर्याउने पर्खाईमा आम नेपाली बसेका छन् ।

0 comments: