कास्की (काफलघारी) चैत ३ – पोखराबाट ७ किलोमिटर पूर्व लागेपछि कास्कीको कालिका गाविस काफलघारीमा पुगिन्छ ।
जहाँका वासिन्दाले बिहानदेखि बेलुकीसम्म बाँदर कुर्ने ड्यूटी गर्नुपर्छ । यताबाट लखेट्दा उताबाट बारीमा छिर्छ, उताबाट लखेट्यो फेरि अर्कोतिरबाट । त्यहाँका बासिन्दालाई बाँदरको ड्युटी गर्दा खाना खाने फुर्सद समेत हुँदैन । ‘जति गर्दा पनि बाँदरबाट मुक्ति पाइएन, घरमा बुढाबुढी मात्रै छौं, पालो गरेर खाना खानुपर्छ’ स्थानीय योगमाया भण्डारी भन्नुहुन्छ ‘एउटा बोटमा एक किलो आलु फल्थ्यो, जोगाउन नसके पछि खेती गर्नै छोड्यौं । अहिले किनेर खानुपर्छ ।’
वरिपरी घना जंगल, त्यसको बीचमा बाक्लो वस्ती र उर्बरभूमि छ । तर बाँदरकै लागि खेती गरिदिए जस्तो हुन थालेपछि त्यहाँका वासिन्दा खेतीपाती गर्नै छोडिसके । कृषक समूहका सचिव इन्द्रप्रसाद गौतमका अनुसार शुरुमा त बाँदरले नखाने खेती गर्ने तयारी भएको थियो । बाँदरले पहिले पहिले मुला, केरा, प्याज, लसुन खाँदैनथ्यो । तर अहिले सबै चिज खाने र नष्ट गर्न थालेपछि त्यो योजना पनि सफल हुन सकेन । ‘बाँदरले भेटेको चिज केही पनि चोखो राख्दैन । त्यसैले काफलघारीका बासिन्दाले अलिअलि बचेका केरा, मेवा पनि प्लाष्टिकले बेरेर राख्नुपरेको छ’ उहाँले भन्नुभयो ।
केही समय पहिलेसम्म बाँदरले यति धेरै सताउँदैनथियो र मान्छे देख्दा भाग्थ्यो पनि । तर अहिले अन्नवाली नष्ट गर्ने मात्र होइन, बाँदरले मान्छे माथि नै पटकपटक आक्रमण गरिसकेको छ । स्थानीय ६० वर्षकी लक्ष्मीमाया भण्डारीलाई घरमै पुगेर बाँदरले आक्रमण गर्यो । ‘घरभित्रबाट मकै लिएर फर्कने क्रममा उसलाई अवरोध गरेपछि चिथोरेर भाग्यो’ लक्ष्मीमायाले भन्नुभयो ‘पहिलेको बाँदर यस्ता थिएनन्, मान्छे देखेर डराउँथ्यो, अहिले धेरै शुरु भएछ । मलाई चिथोरेरै गयो ।’
युवाहरु गाउँमा छैनन्, कोही जागिरमा त कोही विदेशमा । घरमा पुरुष छैनन् । केटाकेटी र महिलालाई बाँदरले टेर्दैन । त्यसैले बाँदरले पेटभरी अन्नबाली खाएर वा नष्ट गरेर जाँदा पनि हेरेको हेरयै हुनु परेको छ त्यहाँका महिलाहरु । स्थानीय अम्बिका भण्डारीका अनुसार बाँदरले पनि महिलाहरुलाई हेप्ने गरेको छ । ‘पुरुषहरु देख्दा डराउँछ, हामीलाई देखेको नदेख्यै गर्छ, यताबाट हान्दा उता फर्कन्छ’ अम्बिका भन्नुहुन्छ ‘बाँदर भगाउन नसक्दा त खेतीपाती नै बाँदरका लागि गरिदिए जस्तै भएको छ । पेटभरी भएर जाँदा र सबै नष्ट गर्दा पनि चुप लागेर बस्नु पर्छ कि, कि डरले लुक्नुपर्छ ।’
महिलाहरु स्वभावैले नरम स्वभावका, दया गर्ने र डराउने, आत्तिने, कराउने खालका हुन्छन् । बाँदरविद डा. मुकेश चालिसे भन्नुहुन्छ ‘यो कुरा बाँदरले बुझिसकेको हुन्छ, जसले गर्दा बाँदरले महिलालाई बढी हेप्न खोज्छ ।’ यस्तै पुरुषको तुलनामा महिलाहरु छरितो भएर नहिँड्ने, साडी, फरिया, सल लगाएर हिँड्ने र त्यसले भाग्दा अल्झिने, लड्ने भएकाले बाँदरले त्यसलाई महिलाको कमजोरीका रुपमा लिन्छ र झनै हेप्न खोज्छ । अहिले नेपालमा एक लाखभन्दा बढी बाँदर रहेको अनुमान गरिन्छ । वासस्थानको विनास, संख्यात्मक बृद्धि र जंगलमा प्रयाप्त आहारको कमीले बाँदर मानव वस्तीमा जाने क्रम बढेको छ । त्यसैले बाँदरबाट जोगिन केही उपाय अपनाउनुपर्ने चालिसेको सुझाव छ । उहाँका अनुसार, बाँदरले अमिलो, पिरो, तितो वा गन्ध आउने चिज बढी रुचाउँदैन । त्यसैले उसले नखाने खेतीपातीतिर बढी ध्यान दिनुपर्छ ।
साह्रै बदमास बाँदर छ भने त्यसलाई भगाएर आफ्नो वासस्थानबाट टाढा भगाउनुपर्छ । आवश्यक परे सरकार वा सम्बन्धित निकायसँग अनुमति लिएर वा सल्लाह गरेर बाँदरलाई हटाउन सकिन्छ । अनि बाँदरले धेरै नै दुःख दिने गरेको भए त्यसलाई समातेर औषधि विज्ञानमा पठाई दिनुपर्छ । ताकि औषधिको परीक्षणमा बाँदर प्रयोग होस् । किनकी संसारभरि औषधि विज्ञानका लागि भनेर दशौं हजार बाँदर प्रयोग गरिएको हुन्छ ।
0 comments:
Post a Comment