Friday, March 7, 2014

सीप सिकेपछि चञ्चलीमायाको लोभलाग्दो प्रगति

काठमाडौ, फागुन २३ – बानेश्वरको निजामती अस्पताललाई देब्रे पारेर पाँच मिनेट पैदल हिंडेपछि चञ्चलीमाया गहतराजको पसलमा पुगिन्छ ।

तीनतले घरको भुईतलाको सामान्य पसलमा एउटा र्‍याक, दुईवटा लुगा सिलाउने मेसिन छ । भित्ताका ह्याङ्गरमा सिलाई सकिएको कपडा तन्द्र्याङतुन्द्रुङ झुण्ड्याइएको छ । एउटा मेसिनमा चञ्चलीमायाले लुगा सिलाउनुहुन्छ भने अर्को मेसिनमा सप्तरीकी देवकुमारी चौधरी कपडा सिउँदै हुनुहुन्छ ।
सिन्धुपाल्चोककी चञ्चलीमायाले यो ठाउँमा पसल खोलेको ६ महिना भयो । पसल खोल्नुअघि उहाँले ड्रेस मेकिङ सम्बन्धि तीन महिने निःशुल्क तालिम लिनुभएको थियो । तालिम दिने संस्थाकै सल्लाहमा उहाँले ६० हजार रुपैयाँ लगानी गरेर पसल खोल्नुभएको हो । पसल खोलेकै दिनदेखि कामको खाँचो छैन उहाँलाई ।
काठमाडौं बसाईका धेरै बर्ष उहाँका त्यसै बिते । विदेशमा श्रीमानले कमाउने रकमबाट बालबच्चाको पढाई खर्च र कोठाभाडा तिनै पनि मुश्लिक पर्थ्यो । त्यसैले मन हुँदाहुँदै पनि रकम तिरेर सिलाई तालिम लिन सक्नुभएको थिएन । निःशुल्क तालिमले भने उहाँलाई स्वरोजगार बन्ने अवसर दियो । ‘सिलाई सिकौं भनेपनि पैसा तिर्न नसकिने चिन्ता थियो’ चञ्चलीमायाले भन्नुभयो ‘निःशुल्क तालिम पाएपछि त धेरै सजिलो भयो ।’
उहाँको पसल हेर्दा अरुलाई जागिर दिनुभएको छ भनेर पत्याउन मुश्किल पर्छ । तर उहाँले आफुसँगै तालिम लिएकी देवकुमारीलाई महिनाको साढे ६ हजार रुपैयाँ तलब दिएर काममा लगाउनुभएको छ । पसलको सबै खर्च कटाउँदा महिनामा झण्डै १५ हजार रुपैयाँ कमाई हुन्छ । यही रकमबाट घरखर्च चलाएर चञ्चलीमायाले सहकारीमा बचत पनि गर्नुभएको छ । तालिम दिएको संस्थाले २ प्रतिशत व्याजमा तीन बर्षका लागि दुई लाख ऋण दिने व्यबस्था मिलाएपछि पसललाई अलि ठूलो बनाउने योजना बुन्दै हुनुहुनछ चञ्चलीमाया ।
अब पसलमा मेसिन थपेर फेरि एक जनालाई जागिर दिने योजनामा हुनुहुन्छ उहाँ । पसललाई आकर्षक बनाउन फर्निचर थप्ने र कपडा पनि बिक्री गर्ने तयारी रहेको उहाँले बताउनुभयो । ‘अब म दिनमा कम्तीमा एक हजार रुपियाँ बचत गर्नेगरी काम गर्छु’ चञ्चलीमायाले भन्नुभयो । सप्तरीकी देवकुमारी चौधरीलाई पनि कमाइ गर्न सक्ने बनाएको त्यही तालिमले हो । घरमा बसेर त्यसै बित्ने समय काम गरेर दिनको दुई–तीनसय कमाउन पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । ‘काम नगरी घरमा त्यसै बस्दा तनाव पनि उत्तिकै हुन्थ्यो’ देवकुमारी भन्नुहुन्छ ‘अहिले त चाहिएको ठाउँमा खर्च गर्ने रकम आफैसँग हुँदा खुशी लागेको छ ।’
ड्रेस मेकिङको तालिम दिने संस्था जाउलाखेलको स्किल नेपालका अनुसार गएको बर्ष यस्ता तालिम लिएका कुनैपनि महिला खाली हात छैनन् । तालिम लिएकामध्ये सबैजसोले आफैंले पसल खोलेका छन् । थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरुकोमा काम खोज्नु भन्दा आफ्नै पसल खोल्छन् भन्नुहुन्छ स्किल नेपालका वरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत ईन्द्रकुमार नकर्मी । आफुहरुले तालिमसँगै सुरुदेखिनैं बचत गर्ने बानी सिकाएको उहाँ बताउनुहुन्छ । सीप सिकेपछि स्वरोजगारमा जान चाहनेलाई थोरै पूँजीबाट काम सुरु गर्न अथवा एक्लै सकिन्न भने अर्को एक जनालाई साथ लिएर काम थाल्न परामर्श दिने गरिएको नकर्मीको भनाई छ ।
सीप सिकेकै कारणले सिन्धुपाल्चोककी चञ्चलीमायाँ र सप्तरीकी देवकुमारीको आम्दानीका बाटोहरु खुलेका हुन् । त्यसैले काम पाईंदैन भनेर चुप लागेर बस्नुहुन्न । आफ्नो रुची मिल्दो सीपमुलक तालिम सिकाउने ठाउँ खोजेर तालिम लिने हो भनें त्यहि तालिम जीवनयापनको आधार बन्न सक्छ ।

0 comments: