Friday, March 7, 2014

मेचीदेखि महाकालीसम्म अत्याधुनिक रेल !

रेल सेवालाई संसारभर सुविधा सम्पन्न र सस्तो यातायातका रुपमा लिने गरिन्छ ।

पछिल्लो समय संसारका धेरै देशले अत्याधुनिक रेल सञ्चालनमा ल्याएर यो सेवा अझै प्रभावकारी बनाइरहेका छन् । तर नेपालमा भने रेलसेवा सुरु भएको ७० वर्षसम्म पनि प्रभावकारी हुन सकेको छैन ।

नेपालको जनकपुरबाट जयनगरसम्मको २९ किलोमिटरमा मात्र चल्ने रेल सेवाको कन्तविजोग छ । पछिल्लो समय पूर्वपश्चिम रेलमार्गको चर्चाले नेपाली नागरिकमा आधुनिक रेल चढ्ने इच्छा पुरा हुने आशा पलाएको छ । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम नै सुरु गरिसकेको छ । पूर्व मेचीबाट पश्चिम महाकालीसम्म संसारमै चर्चित रेल कम्पनीका अत्याधुनिक रेल सञ्चालन गर्ने सरकारको तयारी छ । यो रेलमार्गको निर्माणपछि नेपालीले युरोप र अमेरिकामा सञ्चालन हुने आधुनिक रेल चढ्न पाउने छन् । सन् २०१८ मा पुरा गर्ने लक्ष्य राखिएको यो रेलमार्गको निर्माण पुरा हुने मिति भने अहिले नै यकिन गर्न नसकिने भौतिक पुर्बाधार तथा यातायात ब्यवस्था मन्त्रालयले बताएको छ ।
मन्त्रालयको रेल विभागका अनुसार पूर्वपश्चिम रेल मार्गको सम्भाव्यता अध्ययनपछि अहिले विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ । त्यसो त यो रेलमार्गमध्ये जयनगर—बर्दिवास खण्डमा झण्डै पाँच किलोमिटर र विराटनगर खण्डमा झण्डै १२ किलोमिटर ट्रयाक बोर्ड खोल्ने काम समेत भइसकेको छ । विभागका महानिर्देशक रामेश्वरमान सिंहका अनुसार मेची महाकालीको नौ सय ४५ किलोमिटर रेल मार्गलाई विभिन्न खण्डमा विभाजन गरिएको छ ।
त्यसमा काठमाडौदेखि पोखरासम्म १ सय ८७ किलोमिटरको रेलमार्ग पनि पर्छ । यो मार्गको पाँचवर्षदेखि सम्भाव्यता अध्ययन शुरु भएको थियो । अहिले पनि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपालको सिल्ट कन्सल्टेन्ट, भारतको राइटस इन्डिया र कोरियाका विभिन्न तीनवटा कम्पनी पूर्वपश्चिम रेलमार्गको निर्माणका विभिन्न प्रक्रियामा सहभागी भएका छन् । विभिन्न खण्डको विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपीआर बनाउने काम भैरहेको छ ।
मोरङको बिराटनगर—जोगवनी र जयनगर—बर्दिवास खण्डमा अहिले जग्गा अधिग्रहणको काम भैरहेको छ । लगभग यी खण्डमा जग्गा अधिग्रहणको सकिन थालेको महानिर्देशक सिंहले जानकारी दिनुभयो । पूर्वपश्चिम रेल मार्गका लागि चालु आर्थिक वर्षमा सरकारले एक अर्ब ४० करोड रुपैयाँ रकम छुट्याएको छ । पूर्वपश्चिम राजमार्गको नजिकैबाट जोडिने भएकाले रेलमार्गबाट पनि प्रमुख शहरहरु जोड्नेगरी सहायक मार्गहरु बनाउने सरकारको तयारी छ । तराईका भारतीय सीमासंग नजिक रहेका शहरहरु काँकडभिट्टा, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जमा लिङ्क मार्ग राखिने छ । यसको कुल लम्बाई ७२ किलोमिटर हुनेछ । लिङ्क मार्गका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको छ ।

रेलमार्गलाई कसरी जुट्दैछ रकम ?  

सरकारले पूर्वपश्चिम रेलमार्गलाई राष्ट्रिय गौरबको आयोजनामा सूचीकृत गरेको छ । यसको सबै काम सक्न साढे ६ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान छ । अहिलेसम्म सरकारले आन्तरिक श्रोतबाटै यसको काम अघि बढाइरहेको छ । पूर्वपश्चिम रेलमार्गमा आर्थिक वर्ष ०६५/६६ देखि रकम विनियोजन भैरहेको छ । विभागका महानिर्देशक सिंहले तत्कालका लागि आफ्नै स्रोत साधनबाट काम भैरहेको बताउनुभयो । डिपिआर तयार भएपछि विभिन्न दातृ निकायसंग सहयोगका लागि आग्रह गर्ने उहाँको भनाई छ ।
मुअव्जा दिनुपर्ने भएका कारण आयोजना शुरुमा अनुमान गरिएभन्दा भन्दापनि महंगो पर्ने सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वी नेपालका दुईवटा खण्डको मुअव्जाको काम सकिनै लाग्दा ठाउँ ठाउँमा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष लगायत तराईका संरक्षण क्षेत्रबाट रेल मार्ग सञ्चालनमा समस्या पर्ने देखिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन र निकुञ्जको अनुमतिले गर्दा रेलमार्गको डिपिआर निर्माणका लागि समेत समस्या परेको रेल विभागले जनाएको छ । सबै खण्डको डिपिआर तयार भएपछि आर्थिक सहयाताका लागि आह्वान गर्ने तयारी सरकारको छ ।

काठमाडौमा मेट्रो रेल

पूर्वपश्चिम र प्रमुख शहर जोड्ने मात्र होइन सरकारले राजधानी काठमाडौंमा पनि मेट्रो रेलको योजना अगाडि बढाएको छ । घन्टौंसम्म गाडीको जामको समस्या हटाउनका लागि काठमाडौं उपत्यक भित्र मेट्रो रेलसेवाको खाका तयार पारेको सरकारले जनाएको छ । अहिलेको चक्रपथ भित्र र बाहिरका ठाउँलाई जोड्नेगरी ५ वटा लाइन प्रस्ताव गरिएको छ । झण्डै ६६  किलोमिटर लामो रेल सञ्जालको मुख्य केन्द्र भने अहिलेको बस, टेम्पोको मुख्य ठाउँ अर्थात रत्नपार्कनै बनाउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । यसको अध्ययन पनि नेपाल र कोरियाका कम्पनीले गरेका थिए ।
काठमाडौंमा तीन तहमा मेट्रो रेलसेवा संचालन गर्ने गरी डिपिआर तयार भइरहेको छ । काठमाडौं उपत्यकामा जमिनमुनि, जमिनमाथि र जमिनको सतहमा गरी तीन प्रकारका रेल मार्गको कल्पना गरिएको छ । रत्नपार्क जोड्नेगरी बनाइने झण्डै ३५ किलोमिटर रेललाइनले चक्रपथका सबैजसो चोकलाई छुनेछ । हरेक चोकमा यात्रु चढ्ने र ओर्लने स्टेशन समेत बनाईने योजना छ ।

जनकपुर जयनगर रेलको विजोग

सरकारले देशैभरका नागरिकलाई प्रभाव पार्ने गरी काम थालेपनि भएको जनकपुर रेलको अवस्था भने दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको छ । सात दशक भन्दा धेरै समयको इतिहास बोकेको  नेपालको एक मात्र रेल जनकपुर—जयनगर रेल सेवाको भने स्तर उन्नती हुन सकेको छैन । पहिले निकै आम्दानी गर्ने यो रेलसेवाले अहिले कर्मचारी खर्च समेत उठाउन सकेको छैन । धेरैजसो रकम कर्मचारीको तलब सुविधामा खर्च हुने गरेको छ । जनकपुर र आसपासका बासिन्दाले रेल सेवा कहिलेकाँही  नियमित संचालन नहुँदा आफूूहरु मर्कामा परेको बताएका छन् ।
पहिले जनकपुर रेल्वे भारतीय सीमावर्ती जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालन हुन्थ्यो । तर कमजोर व्यवस्थापनका कारण अहिले जनकपुर जयनगरमै सीमित छ । धनुषा जिल्लाका झण्डै दुई दर्जन गाउँ बिकास समितिलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र साधन हो । आफूले जनकपुर रेल्वेको सुधारमा काम गरिरहेको रेल्वेका सहायक प्रबन्धक रामेश्वर यादवले बताउनुभयो । अहिले पनि आर्थिक अवस्था निकैनै कमजोर छ ।
जनकपुर जयनगर रेल्वे यात्रु नभएका कारणले आर्थिक अवस्था कमजोर भएको भने होइन । रेल सञ्चालन भएका बेला हेर्दा संसारमै उदाहरणीय रुपमा मानिसको ओहोर दोहोर देखिन्छ  ।  रेलको छत, झ्याल, ढोका र फल्याक राखेर समेत यात्रु आवतजावत गर्ने गरेका छन् ।

0 comments: